Monday, 02 November 2026
Suryodaya Online
१६ कात्तिक २०८३, सोमबार
विज्ञापन

चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिम विजयी

Suryodaya Online१६ कात्तिक २०८३Suryodaya Online TV0 प्रतिक्रिया

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १८.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले चितवनलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनमा सीमित गरेको थियो। चितवनका ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा टोलीले सामान्य योगफल बनाएको थियो।

चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । उनले ४० बलमा तीन चौका र दुई छक्का प्रहार गरे। यस क्रममा बोपाराले टी–२० क्रिकेटका सबै स्वरूपमा १० हजार रन पूरा गर्ने उपलब्धिसमेत हासिल गरे ।

जिम्बाब्वेका अलराउन्डर सिकन्दर रजाले १५ रन बनाए । ओपनर डेभिड मलानले १७ बलमा १६ र अर्जुन साउदले १६ बलमा १५ रन जोडे। देव खनाल सात रनमा आउट भए ।

सुदूरपश्चिमका बलर स्कट कुगेलाइनले चार ओभरमा २७ रन खर्चेर दुई विकेट लिए। हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले सुरुदेखि नै रन गति कायम राख्दै चितवनमाथि दबाब बनाएको थियो । पाँच विकेट गुमाए पनि टोलीले निर्धारित लक्ष्य भेट्टाउन सफल भयो। यस जितले सुदूरपश्चिमलाई प्रतियोगितामा दोस्रो जित दिलाएको छ।

यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो भने लुम्बिनी लायन्ससँग सात विकेट र विराटनगर किंग्ससँग ३५ रनले पराजय बेहोरेको थियो। चितवनले भने प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सलाई आठ रनले हराएको थियो। लुम्बिनी लायन्ससँगको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो।

चितवनविरुद्धको जितसँगै सुदूरपश्चिमले अंकतालिकामा आफ्नो स्थिति सुधार्ने अवसर पाएको छ। एनपिएलको लिग चरणमा आठ टोलीबीच प्रतिस्पर्धा भइरहेको छ ।

तस्बिर : नेपाल फोटो सर्भिस (एनपीएस)

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private