काठमाडौँ, कात्तिक १०। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन्। तेस्रो संस्करणको प्रतियोगितामा आज विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुन लागेको हो।
आजको पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल मध्याह्न १२ः३० बजेदेखि सुरु हुनेछ।त्यसैगरी, दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्। उक्त खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।आज मैदानमा उत्रने चार टोलीमध्ये जनकपुर बोल्ट्सले यसअघि उपाधि जितिसकेको छ। जनकपुर यसपटक पनि उपाधि जित्दै आफ्नो सफलता दोहोर्याउने लक्ष्यमा रहेको छ।
यता कर्णाली याक्स पहिलो उपाधि जित्ने योजनासहित मैदानमा उत्रनेछ। पहिलो खेल खेल्ने विराटनगर किङ्ग्स र चितवन राइनोज पनि जित निकाल्दै उपाधि यात्रालाई बलियो बनाउने लक्ष्यमा छन्।यस संस्करणको एनपिएलमा केही नयाँ व्यवस्था थपिएका छन्। प्रतियोगितामा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लागू गरिएको छ। साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट पहिलोपटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको जनाइएको छ।
प्रतियोगिताको पुरस्कार राशि पनि वृद्धि गरिएको छ। उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ८० लाख रुपैयाँ पाउनेछ।
आजका दुवै खेलले प्रतियोगिताको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।