Tuesday, 27 October 2026
Suryodaya Online
१० कात्तिक २०८३, मंगलबार
विज्ञापन

बक्स अफिसमा ‘जेलर २’ को ऐतिहासिक सफलता, विश्वभरबाट कमायो ७३३ करोड भारुभन्दा बढी

Suryodaya Online१० कात्तिक २०८३Suryodaya Online0 प्रतिक्रिया

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत चलचित्र ‘जेलर २’ ले विश्वव्यापी बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ। चलचित्रले प्रदर्शनको १२ दिनमै विश्वभरबाट करिब ७३३.३५ करोड भारु कमाएको व्यापारिक ट्र्याकरहरूको तथ्यांकले देखाएको छ। नेल्सन दिलीपकुमारको निर्देशनमा बनेको यस एक्सन ड्रामा चलचित्र १५ अक्टोबर २०२६ मा प्रदर्शनमा आएको थियो। प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाएको चलचित्रले पछिल्लो समय तमिल सिनेमाको बक्स अफिसमा नयाँ कीर्तिमान कायम गरेको हो।

व्यापारिक विवरणअनुसार चलचित्रले भारतमा मात्रै करिब ४७७.८५ करोड भारु ग्रस कमाइ गरेको छ भने विदेशबाट करिब २५५.५० करोड भारु संकलन गरेको छ। यससँगै यसको कुल विश्वव्यापी ग्रस कमाइ ७३३.३५ करोड भारु पुगेको छ। ‘जेलर २’ ले सन् २०१८ मा प्रदर्शनमा आएको रजनीकान्त तथा अक्षय कुमार अभिनीत चलचित्र ‘२.०’ को करिब ६९१ करोड भारुको विश्वव्यापी कमाइलाई उछिन्दै सबैभन्दा बढी कमाइ गर्ने तमिल चलचित्रको कीर्तिमानसमेत बनाएको छ।

चलचित्रमा रजनीकान्तसँगै मोहनलाल, शिवराजकुमार, ज्याकी श्रफ, राम्या कृष्णन, एसजे सूर्या, विद्या बालन र मिथुन चक्रवर्ती लगायतका कलाकारको अभिनय रहेको छ। एक्सन, स्टार कलाकार र दर्शकको आकर्षणले चलचित्रको व्यावसायिक सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ।सप्ताहन्तमा बलियो कमाइ गरेको चलचित्रको दैनिक आम्दानी भने दोस्रो सातामा केही घटेको छ। यद्यपि, विश्वव्यापी कुल कमाइका आधारमा ‘जेलर २’ ले तमिल फिल्म उद्योगमा उल्लेखनीय सफलता हासिल गरेको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private