काठमाडौं । एभरेस्ट पेपर मिल्स प्रालिका १७४ श्रमिकले लामो समयको कानुनी तथा प्रशासनिक संघर्षपछि पाउनुपर्ने सेवा सुविधा र बक्यौता रकम प्राप्त गरेका छन्। युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार श्रमिकलाई कुल ६ करोड ३६ लाख ६२ हजार ८ सय ३ रुपैयाँ ३८ पैसा भुक्तानी गरिएको हो।
उद्योग प्रशासन र श्रमिकबीच विवाद बढेपछि १७४ श्रमिकले पाउनुपर्ने पारिश्रमिक तथा सेवा सुविधा माग गर्दै कानुनी प्रक्रिया अघि बढाएका थिए। लामो समयसम्म रकम भुक्तानी नभएपछि श्रमिकले अदालत र सम्बन्धित निकायमार्फत न्यायका लागि पहल गर्दै आएका थिए।
यसै क्रममा श्रम अदालतले १७ चैत २०८२ मा श्रमिकलाई ५ करोड ८६ लाख ६० हजार ३ सय ९५ रुपैयाँ २२ पैसा भुक्तानी गर्न बैंक खाता फुकुवा गर्ने आदेश दिएको थियो। तर, बैंक खाता फुकुवा भए पनि प्रतिष्ठानबाट रकम भुक्तानी नभएपछि श्रमिकले अदालतको अवहेलना भएको भन्दै पुनः निवेदन दिएका थिए।
निर्णय कार्यान्वयन नभएको भन्दै पुनः निवेदन परेपछि २६ भदौ २०८३ मा सेयरधनीहरूको बैंक खाता, सम्पत्ति तथा सेयरसमेत रोक्का गरिएको थियो।
मन्त्रालयका अनुसार अदालतको आदेश कार्यान्वयन र जिल्ला प्रशासन कार्यालय धनुषासँगको सहमतिपछि ३० असोज २०८३ मा श्रमिकलाई विभिन्न चेकमार्फत रकम भुक्तानी गरिएको हो। अदालतको आदेशअनुसारको बक्यौता रकमसँगै भदौ र असोज महिनाको तलबसमेत जोडेर कुल ६ करोड ३६ लाख ६२ हजार ८ सय ३ रुपैयाँ ३८ पैसा भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ।
रकम भुक्तानीसँगै लामो समयदेखि रोकिएको श्रमिकको सेवा सुविधा तथा बक्यौता भुक्तानीसम्बन्धी प्रक्रिया टुंगिएको मन्त्रालयको भनाइ छ। लामो कानुनी संघर्षपछि आफ्नो हकको रकम प्राप्त गरेसँगै एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाउनुपर्ने भुक्तानी पाएका छन्।