काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मकवानपुर, बाँके र धनुषामा लागूऔषधसहित चार जनालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, पिपलबोटबाट ४२ किलो ४ सय १० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको वैशालीस्थित महुवा टोलका २५ वर्षीय बिर्जु कुमार राय र २६ वर्षीय मन्जय कुमार राय रहेका छन्।
मंगलबार दिउँसो प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको बीआर १ एपी ६०७३ नम्बरको गाडी जाँच गर्ने क्रममा १९ वटा पोकामा राखिएको गाँजा बरामद गरेको थियो। गाँजा बरामद भएपछि प्रहरीले गाडी चालक बिर्जु कुमार राय र गाडीमा सवार मन्जय कुमार रायलाई पक्राउ गरेको जनाएको छ।
त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–५ बाट ३ सय ५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुखराम थारू पक्राउ परेका छन्।यसैगरी, धनुषाको शहीदनगर नगरपालिका–१ बाट करिब २ किलो ४ सय ७० मिलिग्राम गाँजासहित प्रमिला देवी मण्डल पक्राउ परेकी छन्।
प्रहरीले तीन जिल्लाबाट पक्राउ परेका चारै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।