झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापाका पाँचै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला सदरमुकाम भद्रपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचन व्यवस्थापनको औपचारिक प्रक्रिया अघि बढेको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन क्षेत्र नम्बर ३ को कार्यालय जिल्ला समन्वय समिति झापाको भवनमा स्थापना गरिएको छ। त्यसैगरी निर्वाचन क्षेत्र नम्बर १ का लागि मेचीनगर नगरपालिका कार्यालय (ईटाभट्टा), क्षेत्र नम्बर २ का लागि अर्जुनधारा नगरपालिका कार्यालय, क्षेत्र नम्बर ४ का लागि कनकाई नगरपालिका कार्यालय र क्षेत्र नम्बर ५ का लागि दमक नगरपालिका–८ स्थित अर्गानिक कृषि केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै जिल्ला अदालत झापाका प्रमुख जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन राजनीतिक दल, नागरिक समाज र मतदाताको सक्रिय भूमिका अपरिहार्य रहेको बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचन सुरक्षाबारे जानकारी दिँदै मतदानस्थलको संवेदनशीलता र सम्भावित सुरक्षा चुनौतीका आधारमा सुरक्षाकर्मी परिचालन गरिने बताए। जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालका अनुसार झापामा कुल सात लाख १३ हजार पाँच सय ३७ मतदाता रहेका छन्। जिल्लाभर दुई सय ८५ मतदानस्थलमा आठ सय १५ मतदान केन्द्र तोकिएका छन्।
उनका अनुसार सबै मतदान केन्द्र मतदाता, राजनीतिक दल र पर्यवेक्षकका लागि पूर्ण रूपमा सुरक्षित रहने व्यवस्था गरिएको छ। साथै मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीको विवरण सङ्कलनको काम भइरहेको छ।
निर्वाचन अधिकारी नेपालले निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न सहज हुने गरी आवश्यक विवरण सङ्कलन कार्यसमेत अघि बढाइएको जानकारी दिए।






