सशस्त्र प्रहरीको एपिएफ एफसी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश


१० बैशाख २०८३, बिहीबार १८:५४ मा प्रकाशित

भद्रपुर, बैशाख १० । सडन डेथमा संकटा फुटबल क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ एफसी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा एपिएफले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।


निर्धारित समयमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि भएको सडन डेथमा एपिएफ भाग्यमानी सावित हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।


आजको खेलमा सडन डेथमा पनि ३–३ जना खेलाडीले गोल प्रहार गरेका थिए । जसमा संकटाका प्रतिक्षा राईको गोल बाहिरिएपछि संकटा घर फर्किएको हो । सडन डेथमा एपिएफका सरु सुब्बा, हिराकुमारी भुजेल र अञ्जना राना मगरले गोल गरेका थिए । संकटाका तर्फबाट सुशीलाकुमारी चौधरी र झुमा विश्वकर्माले गोल गरेका थिए ।


यसअघि भएको टाइब्रेकरमा एपिएपका गीता राना, अनिता बस्नेत र रश्मिकुमारी घिसिङले गोल गरेका थिए भने अनिता केसी र रेनुका नगरकोटीको प्रहारलाई संकटाका गोलकिपर सुशीलाकुमारी चौधरीले बचाउ गरेकी थिइन् ।


टाइब्रेकरमा संकटाका तर्फबार यशोदा शाही, सुक्रिया मिया र विदेशी खेलाडी सुसिया लिलाले गोल गरेका थिए भने पूर्णिमा राईको प्रहार बचाउ भएको थियो तथा सुनिता भुलनको प्रहार बाहिरिएको थियो ।


निर्धारित ९० मिनेटमा संकटाले बनाएको थुप्रै मुभहरु खेर गए । एपिएफमाथि निरन्तर दबाब दिए पनि संकटाले गोल गर्ने अवसर गुमाएको थियो । खेलको ३१ औँ मिनेटमा संकटाका लागि विदेशी खेलाडी लुसिया लिला जोसेले गरेको प्रहार एपिएफका गोलकिपर अञ्जना राना मगरले पञ्च गरेर फर्काइन् । गोलकिपर राना बिट भइसकेपछि गरेको उनको रिबाउन्स प्रहारलाई प्रतिक्षा चौधरीले गोल लाइनबाट बचाइन् ।


खेलको ३३ औँ मिनेटमा संकटाका विदेशी खेलाडी डोरा बोआफेमाले गरेको पावरफुल सट क्रस बारमा लागेर फर्कियो । पहिलो हाफको अतिरिक्त समयमा पूर्णिमा राईको प्रहार एपिएफका गोलकिपर रानाले पञ्च गरेर बचाइन् ।


एपिएफले संकटाविरुद्ध खासै डेञ्जर मुभ बनाउन सकेन । पहिलो हाफको १३ औँ मिनेटमा मनमाया दमाईको पासमा रश्मिकुमारी घिसिङले गरेको प्रहार संकटाका गोल सुशीलाकुमारी चौधरीले पञ्च गरेर बचाइन् ।  


खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी गीता राना भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् । भोलि (शुक्रबार) हुने पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ र ट्रफी पाउने आयोजक चन्द्रगढी युवा क्लबका अध्यक्ष रोहित सुब्बाले बताए । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउने सचिवालय प्रमुख हिमाल खरेलले बताए । प्रतियोगिताको फाइनल खेल बैशाख १४ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here