मल आयात गर्दा सीमा नाकामा कुनै अवरोध हुँदैनः उजुरी दिए तत्काल कारबाही गर्छौं–अतिरिक्त महानिरीक्षक मगर


१० बैशाख २०८३, बिहीबार १५:३१ मा प्रकाशित

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडा मगरले नेपाल भारत सीमा नाकामा किसानलाई मल आयात गर्दा कुनै अवरोध सिर्जना नहुने बताउनुभएको छ ।


बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले मल आयातमा सहजीकरण गरिएको बताउनुभएको हो । उहाँले मल आयातमा दुःख दिने कुरा पुरानो भइसकेको उल्लेख गर्दै यसवर्ष मल आयातमा नरोक्नेगरि सीमा सुरक्षा पोस्ट (बीओपी) लाई निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले सीमानाकामा मल आयात गर्दा दुःख दिएको पाइएमा खबर गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले खुला सीमाको फाइदा उठाएर मलको नाममा अरु वस्तु तस्करी हुने गरेको उल्लेख गर्दै चेकजाँच लगायतका कार्य भने भइरहेको बताउनु भयो । मलको बोरामा चिनी लगायतका वस्तु आयात हुने गरेको उहाँको भनाई छ ।

उहाँले तस्करी नियन्त्रणमा भने सशस्त्र प्रहरी बल निर्मम भएर लाग्ने बताउनु भयो । किसानलाई भारतबाट आवश्यक मल ल्याउन भने कुनै कडाई नगरेको उहाँको दाबी छ । समितिको बैठकमा सांसदहरुले सीमा सुरक्षा पोस्ट (बीओपी)मा सशस्त्र प्रहरी बलले किसानलाई मल ल्याउन दुःख दिएको गुनासो गर्नुभएको थियो ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here