‘मध्यम वर्ग’ को ‘विवेक’ मा अल्झियो नेपाल


४ माघ २०८२, शनिबार ११:०६ मा प्रकाशित

नेपालको राजनीतिक इतिहासको कालखण्डलाई सुक्ष्म ढंगले केलाउँदा हामी यतिबेला एउटा अभूतपूर्व, संवेदनशील र विरोधाभासपूर्ण संक्रमणकालको साक्षी बनिरहेका छौं । २००७ सालको जनक्रान्तिदेखि २०६२/६३ सालको जनआन्दोलनसम्मका हाम्रा राजनीतिक लडाइँहरू एक हिसावले सरल रेखामा हिँडेका थिए ।

ती लडाइँहरूको चरित्र र उद्देश्य स्पष्ट थियो । ती लडाइँहरू नितान्त रूपमा ‘व्यवस्था’ परिवर्तनका खातिर थिए । कहिले जहानियाँ राणा शासनका विरुद्ध प्रजातन्त्रको खोजी, कहिले निर्दलीय पञ्चायतका विरुद्ध बहुदलीयताको वकालत, त कहिले निरंकुश राजतन्त्रका विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना । ती ऐतिहासिक कालखण्डहरूमा शत्रु र मित्रको कित्ताकाट स्पष्ट थियो, र गन्तव्य पनि संविधानसभा वा नयाँ संविधानमार्फत पुरानो संरचनाको अन्त्य भन्नेमा केन्द्रित थियो ।


इतिहासको नयाँ मोड र चेतनाको संक्रमणकाल
आज हामी जुन लडाइँको मैदानमा उभिएका छौं, त्यो हिजोको भन्दा नितान्त फरक, अमूर्त, जटिल र मनोवैज्ञानिक छ । आजको लडाइँ व्यवस्था परिवर्तनको होइन, यो ‘पात्र’, ‘प्रवृत्ति’, ‘कार्यशैली’ र ‘संस्कार’ बीचको महासंग्राम जस्तो देखिन्छ । यो लडाइँ संविधानको धारा फेर्ने विषयमा होइन, बरु संविधानको मर्मलाई कसरी अभ्यास गर्ने भन्ने विधि र नियतको द्वन्द्व हो । यो ‘प्रणाली’ जोगाउने कि ‘परिणाम’ का लागि प्रणाली नै भत्काउने भन्ने द्वन्द्व हो ।


यो महासंग्रामको केन्द्रमा आज दुईवटा विपरित ध्रुवहरू स्पष्ट रूपमा देखिन थालेका छन्, जसले आगामी दशकको नेपालको भविष्य निर्धारण गर्नेछन् । एकातिर दशकौं लामो राजनीतिक इतिहास, संसदीय अभ्यास, उदारवादी दर्शन र लोकतान्त्रिक विधिलाई मूलमन्त्र मान्ने ‘संस्थागत सुधारवादी धार’ छ, जसको सबल प्रतिनिधित्व नेपाली कांग्रेसका नेताद्वय गगन थापा र विश्वप्रकाश शर्माहरूले गरिरहेका छन् । विश्लेषणको सहजताका लागि हामी यसलाई ‘गवि’ प्रवृत्ति भनेका छौं ।

यो धारले लोकतन्त्रलाई एउटा प्रक्रिया, विधि र संस्थागत स्मृतिको रूपमा ग्रहण गर्छ । अर्कोतिर जनताको चरम निराशा, आक्रोश, प्रविधिको बल र ‘एन्टी–इस्टाब्लिसमेन्ट’ सेन्टिमेन्टको जगमा उदाएको ‘आवेगपूर्ण पपुलिस्ट धार’ छ, जसको प्रतिनिधित्व काठमाडौंका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेहरूले गरिरहेका छन् । यसलाई हामी ‘बार’ प्रवृत्ति भनेका छौं । सतहमा हेर्दा यो चुनाव जित्ने प्रतिस्पर्धा वा पुरानो र नयाँ दलको लडाइँ मात्र देखिएला, तर यसको अन्तर्यमा पस्ने हो भने यो नेपालको लोकतन्त्र कता जाने भन्ने अस्तित्वको लडाइँ हो ।

के नेपाल विधि, प्रक्रिया र संस्थाहरू बलियो भएको ‘सिस्टमेटिक लोकतन्त्र’ बन्नेछ ? वा, नेपाल भीडको मनोविज्ञान, तत्कालको नतिजा र व्यक्तिको सनकमा चल्ने ‘लोकप्रिय तानाशाही’ तर्फ धकेलिँदैछ ? यो प्रश्नको उत्तर कुनै नेताको भाषणमा होइन, नेपालको ‘मध्यम वर्ग’ को चेतना, उसको आगामी कदम र उसले लिने निर्णयमा लुकेको छ ।


डिजिटल कुरुक्षेत्रः एल्गोरिदमले निर्माण गरेको ‘सत्य’ र लोकतान्त्रिक विमर्शको अन्त्य
यो द्वन्द्वलाई बुझ्न हामीले सबैभन्दा पहिले आजको ‘चेतना’ कसरी निर्माण भइरहेको छ भन्ने कुरा बुझ्नुपर्छ । हिजोको जनमत चिया पसलका गफ, पत्रपत्रिकाका सम्पादकीय, पुस्तकहरू र एफएम रेडियोका बहसहरूबाट निर्माण हुन्थ्यो, जहाँ तर्क, प्रति–तर्क र विमर्शको गुन्जायस हुन्थ्यो । तर आजको जनमत सिलिकन भ्यालीका ‘एल्गोरिदम’ हरूले निर्देशित गरिरहेका छन् । हामी यस्तो युगमा प्रवेश गरेका छौं जसलाई ‘पोस्ट–ट्रुथ एरा’ भनिन्छ, जहाँ तथ्यभन्दा भावना र विश्वास बढी शक्तिशाली हुन्छ । फेसबुक, टिकटक र ट्विटरको संरचना नै यस्तो छ कि यसले शान्त, सौम्य, तर्कपूर्ण र गहिरो विचारलाई ‘हत्या’ गर्छ भने आक्रोश, उत्तेजना, घृणा र सतही स्टन्टलाई ‘पुरस्कृत’ गर्छ ।


‘बार’ प्रवृत्तिको उदयमा यही ‘डिजिटल इकोसिस्टम’ को निर्णायक भुमिका छ । मानिसको कुनै विषयमा ध्यान दिने क्षमता १५ सेकेन्डमा झरेको छ । गगन थापाले संसदमा उभिएर देशको अर्थतन्त्र, शिक्षा विधेयक वा स्वास्थ्य बिमाबारे गरेको १५ मिनेटको तर्कपूर्ण भाषणलाई टिकटकको १५ सेकेन्डको ‘डोजर चलाएको’ वा ‘कर्मचारी थर्काएको’ भिडियोले निलेकाछन् । किनकि १५ सेकेन्डको भिडियोले दिमागमा तुरुन्तै ‘डोपामाइन’ रिलिज गर्छ, र हेर्नेलाई ‘ओहो ! काम त यस्तो पो हुनुपर्छ’ भन्ने भ्रम सिर्जना गर्छ । एल्गोरिदमले हामीलाई यस्तो ‘इको च्याम्बर’ मा कैद गरिदिएको छ कि, हामी आफ्नो विचारसँग नमिल्ने तर्क सुन्नै चाहँदैनौं ।

यसले समाजमा ‘नकारात्मकताको लत’ बसालेको छ । जनतालाई ‘समाधान’ भन्दा ‘विनाश’ मा र ‘निर्माण’ भन्दा ‘विध्वंश’ मा बढी आनन्द आउन थालेको छ । यो मनोविज्ञानले लोकतन्त्रको आधारभूत चरित्र– जो धैर्यता, संवाद, असहमति बीचको सहमति र प्रक्रियामा आधारित हुन्छ, त्यसलाई नै ध्वस्त बनाउँदैछ । जब समाजले ‘सोच्ने’ कष्ट गर्न छोडेर केवल ‘हेर्ने’ र ‘प्रतिक्रिया दिने’ बानी बसाल्छ, त्यहाँ ‘गवि’ जस्ता वैचारिक पात्रहरू रक्षात्मक बन्छन् र ‘बार’ जस्ता पात्रहरु नायक बन्छन् र स्वाभाविक देखिन्छन् ।


‘सुकिला मुकुन्डो’ भित्रको द्वैध चरित्र ः नेपालको मध्यम वर्ग
राजनीतिशास्त्रमा सेमोर मार्टिन लिप्सेटले आफ्नो प्रसिद्ध ‘आधुनिकीकरण सिद्धान्त’ मा भनेका छन् “मध्यम वर्ग लोकतन्त्रको मेरुदण्ड हो।” उनको तर्क थियो कि शिक्षा र आर्थिक स्थिरता भएको मध्यम वर्गले नै अतिवादलाई रोक्छ र उदार लोकतन्त्रलाई टिकाउँछ । तर नेपालको सन्दर्भमा र अहिले विश्वव्यापी रूपमै यो सिद्धान्त उल्टो सावित भइरहेको छ । यहाँ मध्यम वर्ग लोकतन्त्रको मेरुदण्ड कम र लोकतन्त्रको घाटी थिच्ने पासो बढी बन्न थालेको छ । नेपालको ‘मध्यम वर्ग’ अहिले मनोवैज्ञानिक रूपमा ‘सिजोफ्रेनिक’ मनस्थितिमा छ । यो वर्गको चरित्र र व्यवहारमा आकाश–जमीनको अन्तरविरोध देखिएको छ र यो बढ्दो क्रममा छ ।


यो वर्ग आफूलाई सबैभन्दा ठूलो लोकतन्त्रवादी ठान्छ । यसलाई बोल्ने स्वतन्त्रता चाहिन्छ, सम्पती जोड्ने अधिकार चाहिन्छ, विदेश घुम्ने पासपोर्ट चाहिन्छ, र निजी क्षेत्रको प्रवद्र्धन चाहिन्छ । यी सबै ‘गवि’ धारले बोक्ने उदार लोकतान्त्रिक एजेन्डा हुन् । तर व्यवहारमा यो वर्ग ‘घोर दक्षिणपन्थी’ र ‘भीडवादी’ हुँदै गएकोछ । यो वर्गलाई ‘कानूनको शासन’ भन्दा ‘डण्डाको शासन’ मन पर्छ । उदाहरणका लागि, बालेन शाहले सुकुम्वासी बस्तीमा डोजर चलाउँदा मध्यम वर्गले “शहर सफा भयो, अतिक्रमण हटेर बाटो फराकिलो भयो” भनेर ताली बजाउँछ । यहाँ उसको लोकतान्त्रिक चेत, मानवअधिकार र समावेशिताको वकालत कहाँ जान्छ ? के लोकतन्त्रमा गरिबको बाँच्ने अधिकार हुँदैन ? तर, जब सरकारले मध्यम वर्गले प्रयोग गर्ने विद्युतीय गाडीमा कर बढाउँछ वा सेयर बजारमा कडाइ गर्छ, वा सामाजिक संजाललाई नियमन गर्न कदम चल्छ तब यही वर्ग “सरकार निरंकुश भयो, लगानीको वातावरण बिग्रियो, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भयो ” भनेर सडकमा आउँछ । यसको अर्थ हो, मध्यम वर्गलाई ‘विशेषाधिकार सहितको लोकतन्त्र’ चाहिएको छ । उनीहरू चाहन्छन् कि कानुन गरिब र निमुखालाई लागोस्, तर आफूलाई भने ‘सेटिङ’ मा छुट मिलोस् । अर्कालाई पर्दा ‘एक्सन’ देख्ने र आफूलाई पर्दा ‘अत्याचार’ देख्ने यो चरित्र नै नेपालमा संस्थागत सुधारको मुख्य तगारो हो ।


विश्वव्यापी संरचनात्मक रूपान्तरणः मध्यम वर्गको विविधता र ‘दिगोपन’ को सवाल
राजनीतिक कोलाहलभन्दा अलि पर हटेर हेर्ने हो भने, हामी अहिले मानव इतिहासकै एउटा विशिष्ट र अभूतपूर्व संरचनात्मक परिवर्तनको साक्षी बनिरहेका छौं । तथ्यांकहरूले विश्व क्रमशः कम गरिब र बढी मध्यम वर्गीय बन्दै गइरहेको देखाउँछन् । तर, यो परिवर्तन एकनासको छैन । नजिकबाट नियाल्दा, त्यहाँ एउटा ‘नयाँ विश्वव्यापी मध्यम वर्ग’ मात्र छैन, बरु धेरै फरक–फरक र विविधतायुक्त ‘बढ्दो मध्यम वर्गहरू’ को उपस्थिति छ । विकसित मुलुकको मध्यम वर्ग ‘स्थिर’ र ‘सुरक्षित’ छ, तर नेपाल जस्तो विकासशील देशको उदीयमान मध्यम वर्ग ‘अस्थिर’ र ‘जोखिमपूर्ण’ अवस्थामा छ । यो वर्ग गरिबीको रेखाबाट भर्खरै माथि उठेको छ, जसको आम्दानीको मुख्य स्रोत रेमिट्यान्स वा साना व्यवसाय हो । यो वर्गसँग आकांक्षा आकासिएको छ, तर सुरक्षाको प्रत्याभूति छैन । एउटा सानो आर्थिक मन्दी वा एउटा ठूलो स्वास्थ्य समस्याले यो वर्गलाई पुनः गरिबीको रेखामुनि धकेल्न सक्छ । 


हो, यही बिन्दुमा ‘गवि’ (संस्थागत) र ‘बार’ (पपुलिस्ट) प्रवृत्तिको परीक्षण हुन्छ । ‘बार’ प्रवृत्तिले यो उदीयमान मध्यम वर्गलाई ‘उपभोक्ता’ मात्र मान्छ र उनीहरूको तत्कालको उपभोगको चाहना (जस्तैः सस्तो गाडी, फराकिलो बाटो) पूरा गर्न खोज्छ । तर, ‘गवि’ प्रवृत्तिले यो वर्गको ‘जोखिम’ लाई बुझेको छ । मध्यम वर्गलाई पुनः गरिबीमा झर्न नदिनका लागि बलियो सामाजिक सुरक्षा, स्वास्थ्य बिमा र गुणस्तरीय सार्वजनिक शिक्षा चाहिन्छ, जुन ‘गवि’ धारका मुख्य एजेन्डा हुन् । मध्यम वर्गको आकार बढ्दै जाँदा उपभोग बढ्छ, र उपभोगसँगै वातावरणीय चुनौतीहरू थपिन्छन् । अबको विकास भनेको डोजर चलाएर डाँडा काट्नु मात्र होइन, जलवायु परिवर्तनसँग जुध्ने ‘दिगो विकास’ हो ।


नेपालको मध्यम वर्गले  उनीहरूको ‘जीवनशैली’ को रक्षा ‘भाइरल भिडियो’ ले गर्न सक्दैन भन्ने बुझ्नुपर्छ । बालेनले फोहोर उठाएर सहर सफा गर्नु राम्रो हो, तर जलवायु परिवर्तन र आर्थिक मन्दीजस्ता विश्वव्यापी संरचनात्मक संकटको सामना गर्न नीतिगत स्थिरता र दूरदृष्टि चाहिन्छ । गगन थापाले संसदमा ‘जलवायु आपतकाल’ वा ‘हरित अर्थतन्त्र’ को कुरा उठाउनु केवल बौद्धिक विलास होइन, यो मध्यम वर्गको भविष्यको सुरक्षा कवच हो । त्यसैले, यो विश्वव्यापी संरचनात्मक रूपान्तरणलाई सही दिशा दिन, मध्यम वर्गलाई गतिशील बनाउन र निरन्तरको उपलब्धिको रक्षा गर्न आवेगमा चल्ने नेतृत्व होइन, संस्थागत स्मृति र सुधारवादी दृष्टिकोण बोकेको ‘गवि’ प्रवृत्ति नै आजको अपरिहार्य आवश्यकता हो।


मध्यम वर्गको शक्तिः न्युयोर्कदेखि इरानसम्मको विश्वव्यापी पाठ


विश्व राजनीतिको ट्रेन्ड हेर्ने हो भने मध्यम वर्गको यही चरित्रले धेरै देशमा उथलपुथल ल्याएको छ । मध्यम वर्ग जहाँ उभिन्छ, त्यहीँ सत्ता हल्लिन्छ भन्ने कुराका विश्वव्यापी उदाहरणहरू हामीले मनन गर्नैपर्छ ।
अमेरिकाको न्युयोर्क शहरको हालैका निर्वाचनहरूलाई हेर्दा मध्यम वर्गको चरित्र प्रस्ट हुन्छ । जोहरान मम्दानी जस्ता प्रगतिशील उम्मेदवारहरूको उदय र विजयले मध्यम वर्गले चाहेमा स्थापित शक्तिलाई चुनौती दिन सक्छ भन्ने देखाउँछ । यो मध्यम वर्गको ‘क्रान्तिकारी शक्ति’ हो । तर, अर्कोतर्फ, आफूलाई ‘लिबरल’ र ‘प्रगतिशील’ भन्ने त्यही न्युयोर्कको मध्यम वर्गले जब आफ्नो टोलमा सुरक्षा र ‘ल एण्ड अर्डर’ को कुरा आयो, तब उनीहरूले प्रगतिशील एजेन्डालाई भोट दिए । 


नेपालमा पनि मध्यम वर्ग ठीक यही बिन्दुमा उभिएको छ उसलाई ‘स्वतन्त्रता’ भन्दा ‘सफाई’ र ‘अनुशासन’ प्यारो लाग्न थालेको छ, चाहे त्यो विधि मिचेरै गरिएको किन नहोस् ।
यस्तै इरानको सडकमा भइरहेको आयतुल्लाह खामेनी विरुद्धको आन्दोलनलाई हेरौं । त्यहाँको दमनकारी सत्तासँग जुध्ने आँट इरानको मध्यम वर्गले नै गरिरहेको छ । यसले के देखाउँछ भने, मध्यम वर्ग ‘मौन दर्शक’ मात्र होइन, यो ‘क्रान्तिको ज्वाला’ पनि हो । तर, त्यो ज्वालाले निर्माण गर्छ कि ध्वस्त गर्छ भन्ने कुरा नेतृत्वको चरित्रमा भर पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here