इलाम । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको आयोजनामा तथा पर्यटन कार्यालय काँकडभिट्टाको आर्थिक सहयोगमा चारदिने पर्यटन पत्रकारिता तालिम इलाममा सुरु भएको छ।
सूर्योदय नगरपालिका–५ स्थित श्रीअन्तु अन्तुडाँडा होमस्टेमा सुरु भएको उक्त तालिममा सात जिल्लाका ३५ जना पत्रकारहरूको सहभागिता रहेको छ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली उपस्थित हुनुहुन्थ्यो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले इलामको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले जिम्मेवार, तथ्यपरक र सन्तुलित पर्यटन पत्रकारितामार्फत इलामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन सकिने उल्लेख गर्नुभयो । मन्त्री पराजुलीले संघीय सरकारका सबै निर्णय प्रदेशले अन्धाधुन्ध मान्नुपर्ने बाध्यता नरहेको स्पष्ट पार्दै प्रदेश सरकारले आफ्ना आवश्यकता र प्राथमिकताका आधारमा स्वतन्त्र निर्णय लिन सक्ने धारणा राख्नुभयो।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्ष भरत खड्काले गर्नुभएको थियो। अध्यक्ष खड्काले पर्यटन क्षेत्रको विकासका लागि पत्रकारहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताउँदै तालिमले सहभागी पत्रकारहरूलाई व्यवहारिक रूपमा थप सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।
सोही अवसरमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले प्रकाशन गरेको क्यालेन्डरको विमोचन समेत गरिएको थियो। तालिममा पर्यटन पत्रकारिताको अवधारणा, पर्यटन समाचार तथा फिचर लेखन, गन्तव्य प्रवर्द्धन, फिल्ड रिपोर्टिङ, फोटो तथा डिजिटल पर्यटन पत्रकारितालगायत विषयमा प्रशिक्षण दिइँदैछ।
लेखक तथा पत्रकार मोहन मैनाली, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश अध्यक्ष विक्रम लुइँटेल तथा पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छवि खतिवडाले प्रशिक्षण दिइरहनुभएको छ।
उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष भीम चापागाईं, पाँचथरका अध्यक्ष भीम बाँस्कोटा, सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गा बराल, होमस्टे महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष एकराज धिमिरे तथा पत्रकार सुजन तिम्सिनालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
चार दिनसम्म सञ्चालन हुने तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइनेछ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले तालिमले सहभागी पत्रकारहरूलाई पर्यटनमैत्री, जिम्मेवार र प्रभावकारी समाचार तथा सामग्री उत्पादनमा सक्षम बनाउने अपेक्षा गरेको जनाएको छ।






