फिफाको अल्टिमेटम बोकेर राखेप पुगे एन्फा महासचिव, मे ४ भित्र निकास खोज्ने तयारी


१० बैशाख २०८३, बिहीबार १६:०६ मा प्रकाशित

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच नेपाली फुटबलमा देखिएको पछिल्लो संकट समाधानका लागि औपचारिक वार्ता शुरु भएको छ । 


बिहीवार एन्फाका महासचिव किरण राईले राखेपका पदाधिकारीहरूलाई भेटेर फिफाले पठाएको पछिल्लो पत्र हस्तान्तरण गर्नुभएको हो । महासचिव राईकाअनुसार फिफाले आगामी मे ४ सम्मको समयसीमा तोक्दै नेपाली फुटबलमा देखिएको हस्तक्षेपको अवस्था अन्त्य गर्न पत्र पठाएको छ ।

राखेप, फिफा, एएफसी र एन्फाबीच यसअघि भएको भर्चुअल छलफलपछि फिफाले यो नयाँ पत्र पठाएको हो । विवादको बीचमै एन्फाले वैशाख १४ गते सोमवारदेखि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ । यसलाई रणनीतिक चाल नभई फुटबलको दायित्व भएको राईले दाबी गर्नुभयो । 

नेपाली फुटबल क्षेत्र अब केवल खेल मात्र नभई एउटा अर्ध–व्यवसायिक ‘उद्योग’ बनिसकेकाले यसमा आश्रित हजारौँ खेलाडी, प्रशिक्षक र रेफ्रीहरूको भविष्य संरक्षण गर्नु राज्य र संघको दायित्व भएको उहाँले बताउनु भयो । फुटबलमै निर्भर रहेका व्यक्तिहरूलाई न्याय दिनका लागि पनि छिटो निकास आवश्यक रहेको उहाँको धारणा छ । 

नेपालको खेलकुद कानून र फिफाको विधानबीच देखिएको नीतिगत टकरावका कारण समस्या उत्पन्न भएको भन्दै राईले इमान्दारीपूर्वक काम गरिरहेको दाबी गर्नुभयो । राखेपसँगको वार्ता सकारात्मक रहेको र आगामी दिनमा पनि छलफल जारी रहने उहाँले जानकारी दिनुभयो । समर्थकहरूलाई आश्वस्त पार्दै उनले कुनै ‘अपराध’ नभएको र भविष्यका लागि दीर्घकालीन निकास निस्किनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here