विर्तामोड २२ पुस । नेपाली कांग्रेसमा आबद्ध ४० बर्षमुनीका युवाहरुले पार्टीका हरेक तह र सरकारका तीनवटै तहमा ४० प्रतिशत युवाहरुको सहभागिता गराउन माग गरेका छन् ।
४० बर्षमुनीका युवाहरुको भेलामा राखिएको अवधारणापत्रमार्फत पार्टीका हरेक तहमा ४० प्रतिशत प्रतिनिधित्व, तीनै तहको सरकारमा युवा प्रतिनिधित्वका लागि उम्मेद्वार चयन गर्दा अनिवार्य रुपमा ‘प्राइभरी इलेक्सन’ गर्नुपर्ने, लोकतन्त्र संरक्षणका लागि पैरवी, भ्रष्टाचारविरुद्ध खबरदारी लगायतका एजेण्डा राखिएको थियो ।

अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल गरिएको भेलाले उक्त अवधारणापत्र पारित गर्दै युवा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको हो । ४० बर्षमुनीका युवाहरुको जिल्लास्तरीय भेलाको संयोजन मिलन चापागाईले गर्नुभएको थियो ।
चापागाईकै अध्यक्षता र गोकुल पौडेलको सहजीकरणमा सम्पन्न भेलामा सञ्जय निरौला, बालकृष्ण निरौला, डिल्ली भट्टराई, भाष्कर भट्टराई, अनुप शिलवाल, मनिस गहतराज, इशान ढकाल, विवेक ढकाल, विश्व सुवेदी, उपेन्द्र बस्नेत, प्रकाश निरौला, राजेन्द्र उप्रेती लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।






