क्रिएटिभ आइडियल्स एकेडेमी स्कुलको एघारौँ वार्षिक उत्सव सम्पन्न


२७ माघ २०८२, सोमबार १७:२१ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–१ मा अवस्थित क्रिएटिभ आइडियल्स एकेडेमी स्कुलको एघारौँ वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिल्चन भण्डारी रहनुभएको थियो भने विद्यालयका संस्थापक एजाज अन्सारीले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि भण्डारीले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सिर्जनशीलता र नेतृत्व क्षमता विकास गर्न ठूलो भूमिका खेल्ने बताउनुभयो । उहाँले सम्पुर्ण अभिभावकहरुलाई आफ्ना नानिबाबुहरुलाई सँधै राम्रो काम गर्न प्रोत्साहन गर्नुपर्ने र उनीहरुको सबै पक्षमा ध्यान दिन पनि आग्रह गर्नुभयो ।

प्रधानध्यापक धनञ्जय रिमालले हरेक विद्यार्थीको प्रतिभा उजागर गर्ने र आत्मविश्वास विकास गर्ने दिशामा निरन्तर प्रयासरत रहेको बताउनुभयो । उहाँले वार्षिक उत्सव यसको उत्कृष्ट अवसर भएको पनि बताउनुभयो ।

कार्यक्रममा बिर्तामोड नगरपालिका–१ का वार्ड अध्यक्ष अग्नि पाण्डे, जिल्ला प्याबसन झापाका सदस्य देवेन्द्र हुमागाईं साथै शिक्षक, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको पनि उपस्थिती रहेको थियो ।

वार्षिक उत्सवमा कक्षा आठमा अध्ययनरत सलमान अलि खानलाई वर्षको उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित गरिएको थियो । त्यस्तैगरी कार्यक्रममा विद्यालयले सञ्चालन गरेको क्रिकेट र फुटबल प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीहरूलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

विद्यालय कक्षा ८ सम्म सञ्चालनमा छ र हाल २६५ जना विद्यार्थीहरू यहाँ अध्ययनरत छन् । कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य, हाँस्यव्यङ्ग्य, लगायतका सिर्जनात्मक प्रस्तुतिहरू गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । विद्यालय प्रशासनका अनुसार, वार्षिक उत्सवले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here