बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका–२ स्थित श्री आदर्श माध्यमिक विद्यालयको ६६औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
पुस २० गतेदेखि सुरु भएको वार्षिक उत्सव विद्यालयले विभिन्न सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक खेलकुद गतिविधि आयोजना गर्दै मंगलबार औपचारिक रूपमा समापन गरेको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा जलेश्वरधाम व्यवस्थापन समितिका अध्यक्ष, समाजसेवी तथा विद्यालयका जग्गादाता नवीन गट्टानी प्रमुख अतिथि रहनु भएको थियो।
सो अवसरमा विद्यालयले विभिन्न दाताहरूको सहयोगमा स्थापना गरिएका २२ वटा अध्यक्ष कोषबाट कक्षा १ देखि १२ सम्मका कक्षा प्रथम, द्वितीय, तृतीय, अनुशासित तथा जेहनदार गरी ११० जना विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो ।

त्यसैगरी उत्कृष्ट दीर्घसेवी शिक्षकका रूपमा केशव राज दाहाल, नियमित शिक्षकमा चन्द्रप्रकाश पौडेल र नन्दकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो। उत्कृष्ट पूर्व प्रधानाध्यापक तथा दीर्घसेवी शिक्षकका रूपमा करणकुमार पराजुली सम्मानित हुनु भएको थियो।
कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा प्रथम स्थान हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका विज्ञान विषयका शिक्षक अरुण ढुङ्गेललाई सम्मान गरिएको छ भने गत वर्षको एसईई परीक्षामा विषयगत रूपमा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नवीन घतानीले विद्यालयले विगतका वर्षहरूको तुलनामा उल्लेखनीय प्रगति गर्दै आएको बताउँदै अभिभावक, जग्गादाता र चन्दादाताहरूको सहयोगकै कारण विद्यालयको स्तरउन्नतिमा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गर्नु भयो। उहाँले आगामी दिनमा पनि विद्यालयलाई सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भयो।

कार्यक्रमका सभाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनकुमार पोख्रेलले स्थानीय शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक रहेको बताउनु भयो।
विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पोख्रेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने विद्यालयका पूर्व प्रधानाध्यापक तथा शिक्षक हिराभक्त दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो।

विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रममा पालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक लिलाधर खतिवडा र योगेन्द्रमणि दाहालले गर्नु भएको थियो।
अतिथि तथा अभिभावकहरूले विद्यालयको ६६औँ वार्षिकोत्सवले विद्यालयको उज्ज्वल भविष्य र गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।







