झापामा बैशागु बथरको रौनक: मेचे समुदायको भाषा र संस्कृति संरक्षणमा जोड


४ बैशाख २०८३, शुक्रबार १५:१० मा प्रकाशित

बिर्तामोड, झापा । लोपोन्मुख मेचे आदिवासी जनजातिको आह्वान: भाषा, संस्कार, संस्कृति र समतामूलक विकासमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेचे समुदायको राष्ट्रिय पर्व ‘बैशागु बथर’ बिहीबार झापाको बिर्तामोडमा भव्य रूपमा मनाइएको छ। बिर्तामोडस्थित अतिथि सदनमा आयोजित शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रममा नेपाल र भारतका मेचे समुदायको बाक्लो उपस्थिति थियो ।

​आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङको प्रमुख आतिथ्यता तथा मेचे समाज सिबियारीका केन्द्रीय अध्यक्ष वीरेन्द्र मेचेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मेचे समुदायको पहिचान र अधिकारका विषयमा चर्चा गरिएको थियो।


​कार्यक्रमको मुख्य आकर्षण भारतको आसामबाट आएकी प्रख्यात गायिका सुलेखा बसुमतारी थिइन्। ८० वर्षीया बसुमतारीले नेपाली र आसामी गीतहरू मार्फत दर्शकलाई मन्त्रमुग्ध पारिन्। उनले नेपाली चर्चित गायिका कुन्ती मोक्तानको ‘कोही भन्छन् जिन्दगानी कर्कलाको पात…’ बोलको गीत गाउँदा हलमा रहेका दर्शकहरू उत्साहका साथ झुमेका थिए। उनको प्रस्तुतिले संगीत र कलालाई उमेर, भाषा र भूगोलले छेक्न सक्दैन भन्ने बलियो सन्देश दिएको थियो।


​सोही अवसरमा मेचे समुदायबाट विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। राष्ट्रिय सभा सदस्य माननीय रोशनी मेचेलाई कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

​साथै, मेचे समुदायबाट पहिलो पटक डाक्टर बन्न सफल व्यक्तित्व, एसइई (SEE) र कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्राहरू, विभिन्न खेलकुदका राष्ट्रिय खेलाडी तथा प्रशिक्षक र चलचित्र निर्देशकहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।


​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेशम गुरुङ र हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले लोपोन्मुख मेचे जातिको उत्थानका लागि राज्यको विशेष ध्यान जानुपर्ने बताए। भारतको आसामबाट सहभागी पाहुनाहरू—बोडो लेखक राजन बसुमतारी र बीकेडब्लूएसी (BKWAC) का कार्यकारी सदस्य प्रदीप स्वर्गियारीले नेपाल र भारतमा छरिएर रहेका मेचे समुदायबीचको सांस्कृतिक सम्बन्धले भावनात्मक एकता बढाउने उल्लेख गरे।

​कार्यक्रममा बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र वडा नं १० का अध्यक्ष दुर्योधन गुरुङले पनि बैशागु बथरको शुभकामना मन्तव्य राखेका थिए।


​नेपाल र भारतको आसामबाट आएका सहभागीहरू आफ्नै जातीय भेषभूषामा सजिएर आउँदा कार्यक्रम निकै रङ्गीन देखिएको थियो। कार्यक्रममा दुवै देशका कलाकारहरूले मेचे जातिको परम्परागत नृत्यहरू प्रस्तुत गरेका थिए। संस्थाका वरिष्ठ उपाध्यक्ष कमल मेचेले स्वागत गरेको उक्त कार्यक्रमको सहजीकरण केन्द्रीय महासचिव कालु मेचे र सचिव महेश मेचेले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here