श्री जगदीश्वर शिव पाञ्चायन मन्दिरमा भविष्य महापुराणकाे आयोजना


२७ माघ २०८१, आईतवार १८:४९ मा प्रकाशित

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका–२, जयपुरस्थित श्री जगदीश्वर शिव पाञ्चायन मन्दिरमा पवित्र महाशिवरात्रिको पावन अवसर पारेर संगीतमय श्री भविष्य महापुराण महायज्ञको आयोजना गरिने भएको छ ।

आगामी फागुन ६ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने यस धार्मिक पुराणमा पूर्व नेपालका चर्चित १८ पुराण्का व्याख्यता युवा मृदुभाषी आर्चाय पंडित श्री आशुतोष खनालज्युको मुखराविन्दबाट अमृतमय कथा प्रवचन हुने आज पत्रकार सम्मेलनमा बताइएको हो । पुराणमा पंडित राम सुवेदी ज्युबाट पाठ परायण र भक्ती संगितमा रोषन मिश्रको टोली रहने बताइएको छ ।


पुराण आयोजक समितिका संयोजक रोमनाथ पौडेलले मन्दिरको आर्थिक पक्ष कम्जोर रहेकाले मन्दिरको लागि अक्षकोषको वृद्धि तथा जीर्ण अवस्थामा रहेको मन्दिरको छानामा पित्तलको छाउनी लगाउने उदेश्यले यस महायज्ञको आयोजना गरिएको बताउनुभयो ।

उहाँले पुराणबाट संकलित रकमले विवाह, ब्रतबन्ध, सेमीनार, अधिवेशनका लागि प्रयोग हुने कोठा, मन्दिरको अफिसको लागि कोठा तथा किचन बनाउनका लागि खर्च गर्ने बताउनुभयो । २०८१ फागुन ६ गते ठिक ११ बजे कलस यात्रा मण्डप पुजा एवं कथा प्रारम्भ हुनेछ ।

प्रत्येक दिन स्थानीय भजन कृतन समुहद्वारा भजन कीर्तन सहित ज्ञानमञ्च साथै भाँकी देवलीला हुने बताइएको छ । महायज्ञमा दैनिक ३ जना ब्राहमणद्वारा हवन गरिने छ । पुराणबाट अनुमानित १० लाख आम्दानी गर्ने लक्ष राखिएको श्री जगदीश्वर शिव पाञ्चायन मन्दिरका अध्यक्ष पुष्प न्यौपानेले जानकारी दिनुभयो ।

साथै उहाँले सोही कुल आम्दानीबाट ५ लाख पुराणमा खर्च गर्ने र ५ लाख बचत गर्ने बताउनुभयो । यस महापुराणले धार्मिक चेतना अभिवृद्धि गर्दै समाजमा नैतिकता र सद्भाव फैलाउने उद्देश्य राखेको छ ।

भक्तजनहरूका लागि प्रवचन, भजन–कीर्तन, र महाप्रसाद वितरणको व्यवस्था पनि गरिनेछ । उक्त पत्रकार सम्मेलनमा श्री जगदीश्वर शिव पाञ्चायन मन्दिरका सचिव चुणामणी पाण्डे स्थानीय जग्गादाता कृष्णकुमारी पौडेल, पुराण समिति सचिव पुष्पलाल घिमिरे लगायतको उपस्थिीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here