काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले संविधान संशोधन गर्नुभन्दा पहिले राजनीतिक दल र नेताहरुको चरित्र संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
आईतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ठूला राजनीतिक दलहरुमा नेतृत्वले कति वर्ष काम गर्न पाउने भन्ने योजना नै नभएको बताउनु भयो ।
उहाँले ठूला राजनीतिक दलहरुमै सबैभन्दा ठूला भ्रष्टाचारका काण्डहरु रहेको समेत आरोप लगाउनु भयो । उहाँले अहिलेसम्म मुलुकमा सुशासन कायम गर्नको लागि के गरिएको छ ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले दलको नेतृत्वमा बस्नेहरुले सयौं वर्षसम्म हालिमुहाली गर्ने गरेको उल्लेख गर्दै यस्तो चरित्रमा संशोधन गर्न जरुरी रहेको बताउनु भयो ।
साधारण र जनताको समस्या हल गर्ने किसिमको राजनीतिक चरित्र निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।