काठमाडौं । समायोजन सूची सार्वजनिक भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको जिम्मेवारी पनि बाडँफाड गरेको छ ।
मन्त्रालयले ११ औ तहका १४५ जना कर्मचारीलाई समायोजनसँगै जिम्मेवारीमा पनि हेरफेर गरेको हो । स्वास्थ्यका धेरै कार्यालय प्रमुखको जिम्मेवारी हेरफेर गरिएको हो । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा। सुशीलनाथ प्याकुरेल नियुक्त गरिएको छ । डा. प्याकुरेल यस भन्दा पहिला मन्त्रालयको प्रमुख विशेषज्ञको जिम्मेवारीमा थिए । विभागका निमित्त महानिर्देश डा. गुणराज लोहनीलाई विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा सरुवा गरिएको छ ।
यता औषधि व्यवस्था विभागमा निमित्त महानिर्देशकमा पानबहादुर क्षेत्रीलाई जिम्मेवारी दिइएको छ । यसअघि औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायणप्रसाद ढकाल थिए हाल उनलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखका रूपमा सरुवा गरिएको छ । यसैगरी, राष्ट्रिय क्षयरोग केन्द्रमा निर्देशकको जिम्मेवारी पाएका डा. भीमसिंह तिंकरीलाई स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवारकल्याण महाशाखाको निर्देशक बनाइएको छ ।
क्षयरोग केन्द्रमा डा. सागरराज भण्डारीको सरुवा गरिएको छ । उनी यसअघि धवलागिरि अञ्चल अस्पतालमा मेसुका रूपमा कार्यरत थिए । परिवार कल्याणको नेतृत्व लिएका डा। आरपी विच्छालाई कान्ति बाल अस्पतालको नेतृत्व दिइएको छ ।





