काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा पोखराले बाजी मार्दै बलिङ रोजेको हो।
पोखराले यस खेलका लागि कप्तानसमेत परिवर्तन गरेको छ। कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेले टोलीको नेतृत्व गर्नेछन्। पोखराको पहिलो रोजाइमा युवराज सम्रा, सुदीप अर्याल र सागर ढकालले स्थान पाएका छन्। यसअघि खेल्दै आएका शाकिब अल हसन, आकाश चन्द र विपिन आचार्य भने आजको खेलमा पहिलो रोजाइमा छैनन्।
यता चितवनले पनि टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ। मार्की खेलाडी कुशल मल्ल र डान मोस्लीलाई पहिलो रोजाइमा समेट्दा देव खनाल र टम टेलरलाई बेन्चमा राखेको छ।