Thursday, 05 November 2026
Suryodaya Online
१९ कात्तिक २०८३, बिहीबार
विज्ञापन

विराटनगरमाथि काठमाडौंको ९ विकेटको सहज जित

Suryodaya Online TV

१९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमाडौंले ९.४ ओभरमै एक विकेट गुमाएर पूरा गरेको हो ।

पहिलो खेलमा पराजित भएको काठमाडौंले त्यसयता लगातार दोस्रो जित निकालेको छ । तीन खेलबाट चार अंक जोडेको काठमाडौं अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

पाँच खेल खेलेको विराटनगरको भने यो तेस्रो हार हो । समान चार अंक भए पनि कमजोर रनरेटका कारण विराटनगर पाँचौं स्थानमा झरेको छ ।

काठमाडौंको जितमा अस्ट्रेलियन ब्याटर डेभिड वार्नरले सर्वाधिक ४४ रन बनाए । उनले २४ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । अर्का अस्ट्रेलियन खेलाडी विलियम बोसिस्टोले २४ बलमा तीन चौकासहित अविजित २३ रन जोडे ।

दोस्रो विकेटका लागि वार्नर र बोसिस्टोले ७९ रनको अविजित साझेदारी गरे । ओपनर साहिल पटेल ११ बलमा १० रन बनाएर आउट भए । विराटनगरका अपराजित पौडेलले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९.३ ओभरमा ८३ रनमै समेटिएको थियो ।

विराटनगरका लागि नवौं नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले सर्वाधिक २६ रन बनाए । उनले २७ बलमा तीन चौका र एक छक्का प्रहार गरे । एन्जेलो म्याथ्युजले ३१ बलमा २२ र बसिर अहमदले १० रन जोडे ।

विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । शेहान जायसूर्या पाँच, लोकेश बम ६, आन्द्रे रसेल तीन र अपराजित पौडेल दुई रनमा आउट भए । इमरान शेख, नारायण जोशी र शुभम रन्जानेले खाता खोल्न सकेनन् । कप्तान सन्दीप लामिछाने तीन रनमा अविजित रहे ।

विराटनगरले सुरुवातदेखि नै लगातार विकेट गुमाएको थियो । पहिलो विकेटका लागि शेहान जायसूर्या र लोकेश बमले ११ रनको साझेदारी गरेका थिए । त्यसपछि नियमित विकेट गुमाएको विराटनगरले ३५ रन जोड्दा सात विकेट गुमाइसकेको थियो ।

आठौं विकेटका लागि म्याथ्युज र रुपेशले ४० बलमा ३९ रनको साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाल्ने प्रयास गरे । विराटनगरका लागि यही नै सबैभन्दा ठूलो साझेदारी बन्यो ।

काठमाडौंका लागि सन्तोष यादवले तीन ओभरमा ११ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । सहान अराचिगेले दुई ओभरमा सात रन दिँदै दुई विकेट लिए । जहानदान खानले ३.३ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए । कप्तान करण केसी, शाह आलम र देव शाहले एक-एक विकेट लिए ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private