काठमाडौं । तिहारको सार्वजनिक बिदामा पनि मालवस्तुको भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ सेवा सुचारु रहने भएको छ।
नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै तिहार बिदाको अवधिमा समेत भन्सारसम्बन्धी बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको हो।
भन्सार विभागबाट प्राप्त पत्रका आधारमा राष्ट्र बैंकले व्यापार सहजीकरण, आपूर्ति प्रणालीको निरन्तरता र सेवा प्रवाहलाई सहज बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ।
तिहारका अवसरमा कात्तिक २२ गतेदेखि २६ गतेसम्म सार्वजनिक बिदा रहेको छ। उक्त अवधिमा भन्सार कार्यालयमा रहेका बैंकका शाखामार्फत भन्सार जाँचपास प्रयोजनका लागि आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।