काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शुक्रबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सको सामना गर्दा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच पनि प्रतिस्पर्धा हुनेछ।
दिउँसो १२ः३० बजे सुरु हुने पहिलो खेलमा कर्णाली र सुदूरपश्चिम आमनेसामने हुनेछन्। तीन खेलबाट दुई जित निकालेको कर्णाली ४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। आजको खेल जित्दै कर्णाली शीर्ष चारमा आफ्नो स्थान थप बलियो बनाउने लक्ष्यमा हुनेछ।चार खेल खेलेको सुदूरपश्चिमले भने दुई जित र दुई हार बेहोरेको छ। छैटौँ स्थानमा रहेको सुदूरपश्चिम पनि जित निकाल्दै अंकतालिकामा सुधार गर्ने योजनामा मैदान उत्रिनेछ।
आजै दिउँसो ४ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछ। तीन खेलबाट एक जित र एक हार बेहोरेको चितवनको अर्को खेल वर्षाका कारण रद्द भएको थियो। तीन अंकसहित सातौँ स्थानमा रहेको चितवन आजको खेल जितेर आफ्नो स्थिति सुधार्न चाहन्छ।
यता तीन खेल खेल्दा पनि जित निकाल्न नसकेको पोखरा अंकतालिकाको पुछारमा छ। पहिलो जितको खोजीमा रहेको पोखराका लागि आजको खेल लय समात्ने अवसर हुनेछ।