काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ ।
कार्कीले बिहीबार आफ्ना कानुन व्यवसायीमार्फत सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए । सर्वोच्च अदालत प्रशासनले अध्ययनका क्रममा रहेको भन्दै बिहीबार दर्ता नगरेको निवेदन शुक्रबार दर्ता गरेको हो ।
निवेदन दर्ता भएसँगै अब सुनुवाइका लागि पेशी तोकिनेछ । सर्वोच्च अदालतमा रिट दर्ता भएको भोलिपल्ट सुनुवाइका लागि पेशी तोक्ने प्रचलन छ ।
सरकारले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । तर, कार्कीले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझिसकेका छैनन् ।
सरकारको निर्णय गैरकानुनी भएको दाबीसहित कार्की अदालत पुगेका हुन् ।