विराटनगर । कोशी प्रदेशस्तरीय मानवअधिकार रक्षक सञ्जालले मानवअधिकारका विभिन्न सवालमा काम गर्न विषयगत उपसमिति गठन गरेको छ।
इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा बिहीबार सम्पन्न सञ्जालको त्रैमासिक बैठकले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, वातावरण, दलित, सीमान्तकृत तथा यौनिक र लैङ्गिक अल्पसङ्ख्यकका सवालमा काम गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो।
मानवअधिकार रक्षक समूह कोशी प्रदेशका संयोजक देवी बाँस्कोटाको अध्यक्षतामा बसेको बैठकमा मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सञ्जालको भूमिका, परियोजनाले उठाएका विषय तथा आगामी कार्ययोजनाबारे छलफल भएको थियो।
निर्णयअनुसार महिला तथा बालबालिका उपसमितिमा सानिया खातुन, तुम्याहाङमा लिम्बू, दीपेन्द्रकुमार झा र कला त्रिताल रहेका छन्। शिक्षा उपसमितिमा जाहगिर मिया, बाबुराम भण्डारी र सन्दीप राय चयन भएका छन्।
त्यस्तै, स्वास्थ्य उपसमितिमा सन्धियाकुमारी राय, अनिमेष पोखरेल र जुनु भट्टराई तथा वातावरण उपसमितिमा लोकबहादुर विष्ट र लीलानाथ निरौला रहेका छन्।
दलित, सीमान्तकृत तथा यौनिक र लैङ्गिक अल्पसङ्ख्यक उपसमितिमा शर्मिला परियार, आकृतिरानी फुयाल, प्रकाश परियार र दुर्गा माझी रहेका छन्।
बैठकले सञ्जालका सदस्यलाई आवश्यकताका आधारमा परिचयपत्र उपलब्ध गराउने तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने निर्णयसमेत गरेको छ। यसका साथै मानवअधिकार रक्षक समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार संरक्षणका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्ने विषयमा छलफल भएको सञ्जालका सदस्य सचिव पुण्य अधिकारीले बताए।
कार्यक्रममा इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेलले सञ्जाल गठनको उद्देश्य र आगामी गतिविधिबारे जानकारी गराएका थिए।
बैठकमा सहभागी सदस्यहरूले मानवअधिकारका सवाल धेरै भए पनि प्राथमिकता निर्धारण गरेर प्रभावकारी रूपमा काम गर्नुपर्ने धारणा राखेका थिए। शिक्षा, स्वास्थ्य र वातावरणको अधिकारसँग सम्बन्धित कानुनी प्रावधानको पहुँच विस्तार तथा स्थानीयस्तरमा मानवअधिकार संरक्षणका लागि सरकारी निकायसँग समन्वय गर्नुपर्नेमा पनि जोड दिएका थिए।