काठमाडौं । उज्यालो र आपसी सद्भावको पर्व तिहारको रौनक सुरु भएको छ। तिहारको सुरुवातसँगै आज धनतेरस पर्व मनाइँदैछ।
धनतेरसका दिन धातुका सामग्री खरिद गरेर घरमा भित्र्याउने धार्मिक तथा सांस्कृतिक चलन छ। यस दिन सुन, चाँदी, तामा र पित्तलका सामग्री किन्नु शुभ मानिन्छ। धनतेरसमा खरिद गरिएका वस्तुले घरमा सुख, शान्ति र समृद्धि भित्र्याउने जनविश्वास छ।
धनतेरसलाई धनका देवता कुबेर र आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीसँग जोडेर पनि हेर्ने गरिन्छ। धार्मिक मान्यताअनुसार यस दिन भगवान् धन्वन्तरीको पूजा आराधना गरे आरोग्य र दीर्घायु प्राप्त हुने विश्वास छ।
तिहार नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सांस्कृतिक परम्परासँग जोडिएको पर्व हो। पाँच दिनसम्म मनाइने यस पर्वमा घरआँगन सफा गर्ने, दीप प्रज्वलन गर्ने, फूलमाला लगाउने र देउसीभैलो खेल्ने परम्परा छ।
धनतेरसबाट सुरु भएको तिहार कागपूजा, कुकुरपूजा, लक्ष्मीपूजा, गोवर्धन पूजा हुँदै भाइटीकासँगै समापन हुन्छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने चलन छ।