Friday, 06 November 2026
Suryodaya Online
२० कात्तिक २०८३, शुक्रबार
विज्ञापन

रवि लामिछानेसँग पनि भेटेर स्वदेश फर्किए भारतीय विदेश सचिव मिस्री

Suryodaya Online TV

काठमाडौँ । दुईदिने नेपाल भ्रमण पूरा गरी भारतीय विदेश सचिव विक्रम मिस्री स्वदेश फर्किएका छन्। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसहित विभिन्न मन्त्री, सांसद तथा राजनीतिक नेताहरूसँग भेटवार्ता गरेका छन्।

स्वदेश फर्किनुअघि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग पनि भेट गरेका छन्। निर्धारित भ्रमण कार्यतालिकामा राजनीतिक दलका नेतासँग भेट्ने कार्यक्रम नरहे पनि अन्तिम समयमा लामिछानेसँग भेट भएको हो।

भेटमा लामिछानेले आफ्नो विगतको भारत भ्रमण र त्यहाँ पाएको स्वागतबारे चर्चा गरेका थिए। उनले नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने धारणा राख्दै आगामी दिनमा हुन लागेका उच्चस्तरीय भ्रमणको सफलताका लागि शुभकामना दिएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल होस् भन्ने कामना पनि उनले गरेका थिए।

लामिछानेले नेपालले विकास तथा आर्थिक कूटनीतिलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना सन्देश हस्तान्तरण गरेका थिए। भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रमा भएका प्रगतिबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको आगामी भारत भ्रमणका क्रममा हुन सक्ने सम्भावित उपलब्धि र नयाँ सहकार्यका विषयमा पनि दुवै पक्षबीच कुराकानी भएको थियो।

भ्रमणका क्रममा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्ने विषयमा पनि छलफल भएको बताइएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि ५० करोड अमेरिकी डलर सहयोग माग्ने विषयमा कुराकानी भएको हो। प्रधानमन्त्रीको भारत भ्रमणमा यो विषय प्रमुख एजेन्डाका रूपमा रहने बताइएको छ।

भारतले पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए पनि सहयोगको रकम र स्वरूप भने टुंगो लागिसकेको छैन। विद्युत् प्रसारण लाइन निर्माण तथा अन्य पूर्वाधार आयोजना अघि बढाउन भारतसँग सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ। यसका लागि नेपालले विशेष प्रस्ताव तयार गरिरहेको स्रोतले जनाएको छ।

त्यस्तै, भारतको सुनौली नाकालाई पोखरासँग जोड्ने सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि अनुदान सहयोग उपलब्ध गराउने विषयमा पनि कुराकानी भएको बताइएको छ। अयोध्यादेखि जनकपुरसम्म रेल सेवा सञ्चालनको औपचारिक घोषणा गर्ने तयारी भइरहेको छ। यसैक्रममा जनकपुरमा रेल सेवाको परीक्षणसमेत गरिएको छ।

भारतीय सहयोगमा पनौतीमा निर्माण सम्पन्न भएको प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, भैरहवास्थित एकीकृत जाँच चौकी तथा दार्चुला र महाकाली नदीमा निर्माण भएका पुल संयुक्त रूपमा उद्घाटन गर्ने विषयमा पनि छलफल भएको छ।

यसका साथै दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माण, लोअर अरुण जलविद्युत् आयोजना र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणलाई अघि बढाउने विषयमा दुवै पक्षबीच कुराकानी भएको छ।

भ्रमणको पहिलो दिन मिस्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

भेटका क्रममा नेपाली मन्त्रीहरूले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका थिए। दुवै पक्षबीच व्यापार तथा वाणिज्य, विकास साझेदारी, जलविद्युत्, भौतिक पूर्वाधार, सीमा व्यवस्थापन, ऊर्जा र जनस्तरको सम्बन्धबारे छलफल भएको थियो।

त्यस्तै, स्टार्टअप, डिजिटल कनेक्टिभिटी, कृत्रिम बुद्धिमत्ता (एआई) र खेलकुदजस्ता नयाँ क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयले पनि छलफलमा स्थान पाएको थियो।

भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपाल–भारत संसदीय मैत्री समूह तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यलगायत सांसदहरूसँग पनि अन्तरक्रिया गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशले बहुआयामिक द्विपक्षीय साझेदारीलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा केही महत्त्वपूर्ण सहकार्य तथा परियोजनाबारे घोषणा हुन सक्ने संकेतसमेत भारतीय विदेश सचिवको भ्रमणले दिएको छ। त्यसका लागि दुवै देशका अधिकारीले आवश्यक गृहकार्य गरिरहेका छन्।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private