Thursday, 05 November 2026
Suryodaya Online
१९ कात्तिक २०८३, बिहीबार
विज्ञापन

प्रधानमन्त्री बालेनसँग भेटेर आजै फर्किँदै भारतीय विदेश सचिव मिश्र

Suryodaya Online TV

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्ने भएका छन् । प्रधानमन्त्रीसँगको भेटवार्तापछि उनी आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीका क्रममा मिश्री मंगलबार बिहान काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै उनी उच्चस्तरीय भेटघाटमा व्यस्त भएका थिए ।

मिश्रीले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

आज प्रधानमन्त्री शाहसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

केही महिनाअघि प्रधानमन्त्री बालेनसँग भेटको समय नमिलेपछि मिश्रीले आफ्नो नेपाल भ्रमण स्थगित गरेका थिए । त्यसैले यसपटकको उनको नेपाल भ्रमण र प्रधानमन्त्रीसँग हुने भेटलाई चासोका साथ हेरिएको छ ।

नेपाल र भारतका अधिकारीहरू प्रधानमन्त्री शाहको मंसिर दोस्रो साताका लागि प्रस्तावित भारत भ्रमणको तयारीमा जुटेका छन् । यसैक्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि मंगलबार काठमाडौं आइपुगेका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कात्तिक ११ गते नियमित पत्रकार भेटघाटका क्रममा प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निमन्त्रणा दिइसकिएको जानकारी दिएका थिए ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूले प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक मिति छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । मिश्रीको नेपाल भ्रमण सकिएलगत्तै भ्रमण मिति सार्वजनिक हुन सक्ने स्रोतको भनाइ छ ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private