काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।
सरकारले बुधबार कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्री बालेन्द्र शाहको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । उनको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो ।
सरकारको निर्णय बदर गरी आफूलाई पुनः पदमा बहाली गर्न माग गर्दै कार्की सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुगेका हुन् । तर, अदालत स्रोतका अनुसार उनको रिट निवेदन दर्ता प्रक्रिया भने सुरु भएको छैन ।
कार्की निकट कानुन व्यवसायीका अनुसार निवेदनमा आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै आईजीपी पदमा पुनर्बहालीको माग गरिएको छ । कार्कीको कार्यकाल अझै १७ महिना बाँकी थियो ।
सरकारले नयाँ आईजीपी नियुक्त गरेका केसीलाई बुधबार नै दर्ज्यानी चिह्न प्रदान गरेको थियो । उनले पदभारसमेत ग्रहण गरिसकेका छन् ।