Tuesday, 03 November 2026
Suryodaya Online
१७ कात्तिक २०८३, मंगलबार
विज्ञापन

एनपीएलमा आज विराटनगर–जनकपुर र लुम्बिनी–पोखराबीच प्रतिस्पर्धा

Suryodaya Online१७ कात्तिक २०८३Suryodaya Online TV0 प्रतिक्रिया

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

आजको पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्नेछन् । खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । तीन खेल खेलेको विराटनगरले अहिलेसम्म एक जित र दुई हार बेहोरेको छ । जनकपुरले भने तीन खेलबाट दुई जित र एक हार निकालेको छ ।

विराटनगरले प्रतियोगिताको सुरुवाती दुई खेलमा चितवन राइनोज र कर्णाली याक्ससँग पराजय बेहोरेको थियो । तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै विराटनगरले पहिलो जित निकालेको थियो । त्यसैले आज जनकपुरलाई हराउँदै जितको लय कायम राख्ने विराटनगरको लक्ष्य हुनेछ ।

जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरे पनि त्यसपछि लगातार दुई खेल जितेको छ । काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको जनकपुर आजको खेलमा पनि जित निकाल्दै आफ्नो स्थिति थप बलियो बनाउन चाहन्छ ।

यसैगरी आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । दुई खेल खेलेको लुम्बिनीले एक जित निकालेको छ भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको छ ।

लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । चितवन राइनोजसँगको दोस्रो खेल भने वर्षाका कारण पूरा हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए । आज पोखराविरुद्ध जित निकाल्दै लुम्बिनी प्रतियोगितामा आफ्नो स्थिति थप मजबुत बनाउने लक्ष्यमा हुनेछ ।

पोखरा एभेन्जर्सका लागि भने प्रतियोगिताको सुरुवात अपेक्षाअनुसार हुन सकेको छैन । दुई खेल खेलेको पोखराले दुवैमा हार बेहोरेको छ । पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको पोखरा दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग पनि हारेको थियो ।

लगातार दुई हारपछि दबाबमा रहेको पोखरा आज लुम्बिनीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्ने प्रयासमा हुनेछ । दुवै टोलीका लागि आजको खेल अंक तालिकामा आफ्नो स्थान बलियो बनाउने अवसरका रूपमा रहेको छ ।

आज हुने दुवै खेलमा एकातिर जितको लय कायम राख्ने चुनौती छ भने अर्कोतिर हारको शृंखला तोड्ने अवसर । त्यसैले विराटनगर–जनकपुर र लुम्बिनी–पोखराबीचका प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private