Thursday, 05 November 2026
Suryodaya Online
१९ कात्तिक २०८३, बिहीबार
विज्ञापन

विराटनगरमा रात्रीकालीन व्यवसायलाई नयाँ समयसीमा, होटल राति २ बजेसम्म खुल्ने

Suryodaya Online TV

विराटनगर । विराटनगरका होटल, रेस्टुरेन्ट, गीत–गजल तथा दोहोरी साँझलगायत रात्रीकालीन व्यवसायको सञ्चालन समय बढाउने तयारी गरिएको छ। नयाँ व्यवस्थाअनुसार सुरक्षा मापदण्ड पूरा गर्ने व्यवसायीले राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाउनेछन्।

जिल्ला प्रशासन कार्यालय मोरङ, सुरक्षा निकाय र व्यवसायीबीच भएको छलफलपछि मंसिर १ गतेदेखि लागू गर्ने गरी नयाँ व्यवस्था अघि बढाइएको हो। प्रस्तावित व्यवस्थामा किराना पसललाई भने मध्यरात १२ बजेसम्म सञ्चालन गर्न दिने उल्लेख छ।

यसअघि प्रशासनले शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै राति साढे १० बजेभित्र सबै व्यवसाय बन्द गर्न निर्देशन दिएको थियो। उक्त समयसीमाले व्यापार व्यवसाय, पर्यटन तथा रात्रीकालीन आर्थिक गतिविधिमा असर पारेको भन्दै व्यवसायीले सञ्चालन अवधि बढाउन माग गर्दै आएका थिए।

नयाँ व्यवस्थाअनुसार रात्रीकालीन व्यवसाय सञ्चालन गर्दा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ। व्यवसाय परिसर तथा आसपासमा सीसीटीभी जडान गर्नुपर्ने, महिला कर्मचारीलाई सुरक्षित रूपमा घर पुर्‍याउने व्यवस्था मिलाउनुपर्ने र मदिरा सेवन गरेका ग्राहकलाई पनि सुरक्षित रूपमा घरसम्म पुर्‍याउनुपर्ने प्रावधान राखिएको छ।

त्यस्तै, गीत–गजल तथा दोहोरी साँझ सञ्चालन गर्दा ध्वनि प्रदूषण नहुने गरी साउन्ड सिस्टम व्यवस्थापन गर्नुपर्नेछ।

व्यवसायीको सहभागितामा तयार पारिएको मापदण्ड जिल्ला सुरक्षा समितिबाट निर्णय भएपछि कार्यान्वयनमा आउनेछ। प्रशासन र व्यवसायीबीच भएको सहमति प्रमुख जिल्ला अधिकारी परिवर्तन भए पनि निरन्तर कार्यान्वयन हुनुपर्ने व्यवसायीको माग छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private