तेह्रथुम ‘ढाकाको राजधानी’ घोषित


२१ असार २०७९, मंगलवार ०७:५३ मा प्रकाशित

म्याङलुङ । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो ।

विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो ।

ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपडा बुन्ने सीप र कलालाई प्रचार–प्रसार गर्न, व्यावसायीकरण र विविधिकरण गर्न तथा तेह्रथुमको ढाकाको विशेष पहिचान स्थापित गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गर्नुभयो । म्याङलुङमा स्थानीय खानाका परिकार, स्थानीय सांस्कृतिक झाँकीसहितको घोषणा कार्यक्रम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here