बिचौलियाको बिगबिगी अन्त्य गर्न र कृषकलाई उचित मूल्य दिन सूर्यविनायक कृषि बजारको स्थापना


२१ असार २०७९, मंगलवार ०९:०५ मा प्रकाशित

काठमाडौं । भक्तपुरको सूयविनायक हरित कृषि थोक बजार प्रा. लि. उद्घाटन भएको छोटो समयमै ग्राहक तथा कृषकमाझ लोकप्रिय बन्दै गएको छ।

गत चैत १६ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्वारा उद्घाटन भएको उक्त बजारमा अहिले साँढे १४ सय स्टल रहेका छन्।

हरियो तरकारी तथा नेपालमा उत्पादित मौलिक सामानहरूसमेतको कारोबार सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा हुने गरेको प्रालिका अध्यक्ष राकेश प्रसाईंले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘सरकारको सहयोग भए हामी यस्ता बजार हरेक प्रदेशमा विस्तार गर्ने सोचमा छौं। त्यही अनुसारको योजना बनाउँदैछौं।’

तत्कारका लागि काठमाडौं उपत्यका छिर्ने पश्चिम नाकामा पनि सोही किसिमको बजार स्थापना गर्ने योजना बनाइएको उहाँले बताउनुभयो।

खासगरि कालीमाटीमा रहेको कृषि बजारमा बिचौलियाको बिगबिगी रहेकाले स्वच्छ तरकारी उपभोक्ताले कुनै झन्झटविना पाउन भन्ने उद्धेश्यले उक्त बजार स्थापना गरिएको प्रसाईंको भनाइ छ।

उहाँले भन्नुभयो, ‘कृषक मेहेनत गरेर उत्पादन गरेको तरकारीको प्रतिफल बिचौलियाले खाइदिने त्यहाँको चलन छ। हाम्रोमा कृषक आफैं ल्याएर तरकारीको कारोबार गर्न सक्छन्। बिचौलिया छिर्न पनि पाउँदैनन् यहाँ।’

सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष प्रसाईले दुई अर्ब रुपैयाँको लगानीमा नेपालमै अहिलेसम्मको सबैभन्दा ठूलो व्यवस्थित कृषि बजार भएको जानकारी दिनुभयो।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ आदर्श सिपाडोल क्षेत्र सूर्यविनायकमा बजार सञ्चालित छ।

किसानलाई उचित मूल्य दिन तथा विचौलियाले नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको प्रसाईंले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here