Monday, 02 November 2026
Suryodaya Online
१६ कात्तिक २०८३, सोमबार
विज्ञापन

९ करोड ७२ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा मालपोतका तत्कालीन सुब्बाविरुद्ध मुद्दा

Suryodaya Online१६ कात्तिक २०८३Suryodaya Online0 प्रतिक्रिया

काठमाडौं, १६ कात्तिक। मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यविरुद्ध ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आचार्यसँगै उनकी पत्नी ललिता राजभण्डारी तथा अन्य व्यक्तिहरूलाई समेत प्रतिवादी बनाउँदै कैद, जरिबाना र गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्न माग गरेको छ।

अख्तियारका अनुसार आचार्यले २०५४ माघ २ गते खोटाङमा गाविस सचिवका रूपमा नियुक्ति पाएदेखि २०८० मंसिर २१ गतेसम्मको अवधिमा आर्जन गरेको सम्पत्ति र गरेको खर्चको अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा आचार्य र उनकी पत्नीको पारिश्रमिक, बचत, घरजग्गा बिक्री, बैंक तथा वित्तीय संस्थाबाट प्राप्त ऋण, कृषि तथा ब्याज आम्दानीलगायत स्रोतबाट ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा वैधानिक आय देखिएको अख्तियारको दाबी छ।

तर, सोही अवधिमा जग्गा तथा घरजग्गा खरिद, विभिन्न कम्पनीमा लगानी, सवारीसाधन खरिद, सेयर खरिद, व्यक्तिहरूलाई ऋण सापटी, बैंक ऋण भुक्तानी र अन्य खर्च तथा लगानीमा कुल १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसा खर्च भएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

वैधानिक आम्दानीभन्दा खर्च तथा लगानी बढी देखिएपछि ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अख्तियारको निष्कर्ष छ।

आचार्यकी पत्नी ललिता राजभण्डारीलाई पनि बिगो बराबरको दाबी गर्दै प्रतिवादी बनाइएको छ। उनकी छोरी निलु र सरूलाई भने गैरकानुनी सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।

त्यसैगरी, गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउने तथा प्राप्त गर्ने कार्यमा संलग्न रहेको आरोपमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ निवासी प्रभा बस्नेत र काठमाडौं महानगरपालिका–३२, पेप्सीकोलाकी कुमारी कटुवाललाई समेत प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध ३८ लाख ८६ हजार १८२ रुपैयाँ बिगो दाबी गरिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आचार्य र उनकी पत्नीबाट थप ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा असुल गर्न अख्तियारले माग गरेको छ। त्यस्तै, प्रभा बस्नेत र कुमारी कटुवालबाट ३८ लाख ८६ हजार १८२ रुपैयाँ ८ पैसा असुल गर्न माग गरिएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ लगायत प्रचलित कानुनअनुसार प्रतिवादीहरूलाई सजाय गर्न तथा गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private