बौधिमाई नगरपालिका–७ स्थित बङ्कुल–नरकटिया सडकखण्डमा सुरक्षा जाँच गर्ने क्रममा भारतीय नागरिक टुना दासलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
स्थानीय बङ्कुल बजारस्थित प्रहरी कार्यालयका सहायक निरीक्षक रमेश यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले सीमा नजिकैको भारतीय बजार घोडासानबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गरेको थियो। सोही क्रममा मोटरसाइकलको सिटभित्र लुकाइएको १० लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार बरामद रकमको स्रोत खुल्न नसकेपछि मोटरसाइकल चालक दासलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले नियन्त्रणमा लिइएका व्यक्ति, बरामद रकम र मोटरसाइकलबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।