विराटनगर । विराटनगर–३ स्थित बाल सुधार गृहमा क्षमताभन्दा झन्डै चार गुणा बढी बालबिज्याइँकर्ता राखिएको पाइएको छ। सीमित क्षमताको सुधार गृहमा अत्यधिक चाप बढिरहेका बेला प्रतिबन्धित मोबाइल फोन र सुर्तीजन्य वस्तुसमेत भित्रै फेला परेपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।
मोरङ प्रहरीले सोमबार बिहान सुधार गृहमा छापा मार्दा ६ थान मोबाइल फोन बरामद गरेको छ। सुधार गृहभित्र मोबाइल प्रयोग गर्न प्रतिबन्ध भए पनि बालबिज्याइँकर्ताले लुकिछिपी मोबाइल प्रयोग गर्दै आएको पाइएको सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेले जानकारी दिए।
उनका अनुसार सुधार गृहमा नियमित चेकजाँच हुँदै आए पनि प्रतिबन्धित सामग्री भित्र पुगेको पाइएको हो। प्रहरीको छापा क्रममा मोबाइलसँगै सुर्तीजन्य वस्तुसमेत बरामद भएको छ ।
सुधार गृहको सुरक्षाका लागि नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक (सई)को कमान्डमा ११ जना प्रहरी परिचालित छन्। सुरक्षा जाँच हुँदाहुँदै पनि आफन्तले जाँच छल्दै मोबाइललगायतका प्रतिबन्धित सामग्री भित्र पुर्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।
५० जनाको क्षमता रहेको सुधार गृहको ए ब्लकमा मात्रै १९३ जना बालबिज्याइँकर्ता छन्। त्यस्तै, कारागार परिसरमा रहेको बी ब्लकमा ६२ जना राखिएका छन्। १८ वर्ष उमेर पूरा भएका तथा उच्छृङ्खल गतिविधिमा संलग्न भएकालाई बी ब्लकमा राख्ने गरिएको छ ।
दुवै ब्लकमा गरी सोमबारसम्म २५५ जना रहेका छन् । क्षमताभन्दा धेरै बालबिज्याइँकर्ता राखिँदा व्यवस्थापन र सुरक्षामा थप चुनौती देखिएको छ ।
यसअघि पनि मोरङ कारागारमा बालबिज्याइँकर्तालाई भेट्न पुगेका दुई युवतीको साथबाट लागूऔषध बरामद भएको थियो। सशस्त्र प्रहरीले कारागारको मुख्य प्रवेशद्वारमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट लागूऔषध फेला पारेको थियो ।