काठमाडौँ, कात्तिक १०। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ।
मन्त्री पोखरेलको सचिवालयका अनुसार मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र साइप्रसबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, उच्च शिक्षामा सहकार्य विस्तार तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीका विषयमा छलफल भएको हो।
भेटवार्ताका क्रममा शिक्षामन्त्री पोखरेलले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउने प्रक्रिया सहज बनाउन मन्त्रालयले काम गरिरहेको जानकारी गराएका थिए।
त्यसैगरी, विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रियालाई व्यवस्थित र सहज बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।
मन्त्री पोखरेलले विगतमा त्रिभुवन विश्वविद्यालयमार्फत हुँदै आएको शैक्षिक उपाधिको समकक्षता निर्धारणसम्बन्धी कार्य अहिले विश्वविद्यालय अनुदान आयोगमार्फत भइरहेको जानकारी गराएका थिए।
समकक्षता निर्धारण प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधारका कामसमेत अघि बढाइएको मन्त्रीको सचिवालयले जनाएको छ।\भेटवार्ताले नेपाल र साइप्रसबीच शैक्षिक सहकार्य विस्तार गर्न तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीका हित र शैक्षिक अवसरसम्बन्धी विषयमा आपसी समझदारी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।