काठमाडौं । ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा पाँचथर, मोरङ, महोत्तरी, गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा सबै भन्दा बढी स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।
पाँचथरमा भएको तिन निर्वाचन मध्ये दुई वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेकपा र नेपाली कांग्रेसले एक एक वडामा जित हात पारेका छन् । फिदिम नगरपालिका वडा नम्बर १ मा नेकपाको तर्फबाट उम्मेद्धवार गजाधार भट्टराई विजयी भएका छन् । यस्तै नेकपाको गढ मानिएको हिलिहाङ गाउँपालिका वडा नम्बर ७ को वडाअध्यक्ष पदमा भने नेपाली कांग्रेसका उम्मेद्धवार तिलविक्रम इधिंगो निर्वाचित भएका छन् । मोरङको धनपालथान गाँउपालिका वडा नं. २ को वडाध्यक्षमा नेपाली कांग्रेसकै नारायण प्रसाद साह १ हजार ७ सय १ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका पंकज कुमार मण्डलले १ हजार ४ सय ९७ मत प्राप्त गरेका छन् ।
त्यस्तै महोत्तरीको बलवा नगरपालिका वडा नं. २ को वडाअध्यक्षको लागि भएको उपनिर्वाचनमा कांग्रेसले सफलता पाएको छ । सो वडामा निकटतम प्रतिद्वन्दी राजपाका बृजलाल साह सूड़ीलाई १ सय ९ मतले पछी पार्दै कांग्रेसका बिपिन पजियार सुडीले विजयी प्राप्त गरेका छन् । महोत्तरीमा एक गाउँपालिका अध्यक्ष र तिन वडाअध्यक्षको लागि भएको उपनिर्वाचनमा अझै एक वडाअध्यक्ष र एक गाउँपालिका अध्यक्षको मत परिणाम आउन बाँकि रहेको छ । उत रोल्पाको थबाङ गाउँपालिका वडा नं. १ को अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार जनक बुढा निर्वाचित भएका छन् । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ वडा नम्बर १ मा भने समाजवादी पार्टीका श्यामबाबु रायले जित हात पारेका छन् ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा पनि समाजवादी पार्टी विजयी भएको छ । समाजवादीका रूपलालकुमार यादव १ हजार ३१ मतका साथ विजयी भएका हुन् । उता बैतडीको सुनर्या गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द विजयी भएका छन् । बाराको गढिमाई नगरपालिका–२ मा पनि काङ्ग्रेस निर्वाचित भएको छ । त्यहाँ नेपाली काङ्ग्रेसका उमेद्वारले ४ सय २९ मत ल्याउँदा नेकपाका उमेदवारले ३ सय २ मत प्राप्त गरे । अर्घाखाँची मालारानी गाउँपालिका–३ मा काङ्ग्रेसका उमेद्वार शोभाखर खनाल निर्वाचित भएका छन् । चितवनको भरतपुर महानगरपालिका–१६ मा पनि काङ्ग्रेसका उमेदवार अमृतराज हमाल निर्वाचित भएका छन् । चितवनकै खैरहनी–५ मा काङ्ग्रेसकै प्रतीमा कार्की निर्वाचित भएकी छिन् । खैरहनी नगरपालिका–४ नम्बर वडाको उपनिर्वाचनमा पनि काङ्ग्रेसकै उमेदवार देवबहादुर बस्नेत विजयी भएका छन् ।
यता महोत्तरीको मटिहानी नगरपालिका–६ मा राष्ट्रिय जनता पार्टीका उमेदवार रामबाबु नायक विजयी भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्षको उपनिर्वाचनमा पनि राजपाकी प्रमिलादेवी यादव निर्वाचित भएकी छिन् । बाँकेको कोहलपुर नगरपालिका– ५ मा नेकपाका रामशरण थारू निर्वाचित भएका छन् । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१३ मा पनि नेकपाका उमेदवार भरतकुमार घिमिरे निर्वाचित भएका छन् । उता भोजपुरको पौवादुङ्मा नगरपालिका–१ मा नेकपाका उमेदवार जितेन्द्र राई निर्वाचित भएका छन् । बाग्लुङ बडिगाड गाउँपालिका–२ मा पनि नेकपाका उमेदवार ढालप्रसाद शेरचन ७ सय ४ मत प्राप्त गरी निर्वाचित भएका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा पनि सत्तारूढ दल नेकपाका उमेदवार शिवभक्त बलामी निर्वाचित भएका छन् । धुलिखेल नगरपालिका–२ मा पनि नेकपा उमेदवार देवप्रसाद कोइरालाले जित हात पारेका छन् । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ मा पनि नेकपाका केदारप्रसाद आचार्य विजयी भएका छन् ।
त्यस्तै सल्यानको कुमाखमालिका गाउँपालिका–५ को वडाध्यक्ष निर्वाचनमा नेकपाका उमेदवार धर्मे बुढाथोकी निर्वाचित भएका छन् । लम्जुङ सुन्दरबजार नगरपालिकामा नेकपाकै नवीन श्रेष्ठ विजयी भएका छन् । पुनर्वास नगरपालिका–३ मा पनि सत्तारूढ नेकपाकै कृष्णबहादुर तामाङ निर्वाचित भए । खोटाङको साकेला गाउँपालिका–३ मा पनि नेकपाकै शिवकला राई विजयी भएक िछिन् । डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका उमेदवार रामबहादुर बोहोरा निर्वा्चित हुनुभएको छ । त्यस्तै रुरु गाउँपालिका–२ गुल्मीमा पनि नेकपाका गिरिप्रसाद सिञ्जाली निर्वाचित भएका छन् । पूर्वी नवलपरासीको बौंदीकाली गाउँपालिका–५ मा पनि नेकपाका खिमबहादुर खरुमगर निर्वाचित भएका छन् । डोटीको आदर्श गाउँपालिकामा नेकपाका उमेद्वार रामबहादुर बोहोराले जित हात पारेका छन् ।





