दशैंका लागि करिब तीन अर्ब रुपैयाँको स्याउ आयत हुने


१२ आश्विन २०७६, आईतवार ११:०६ मा प्रकाशित

काठमाडौं । यस वर्षको दशैंका लागि करिब तीन अर्ब रुपैयाँको स्याउ आयत हुने भएको छ ।

चीन र भारतबाट करिब ३ अर्बको स्याउ आयत हुने नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ । आयत हुने स्याउको ९५ प्रतिशत चीनबाट आउनेछ बाँकी भारत र नेपालको जुम्ला र मुस्ताङको स्याउ बजारमा खपत हुने संघका कोषध्यक्ष काशीराम सापकोटाले जानकारी दिए । जुम्ला र मुस्ताङको स्याउले पछिल्लो समय नेपालका पश्चिमी क्षेत्रका बजार बुटवल, सुर्खेत, पोखरामा राम्रै स्थान पाएको सापकोटाले बताए । दशैंका लागि चीनबाट यो वर्ष ३ सय ट्रकभन्दा बढी स्याउ भित्रने छ ।

तातोपानी नाकाबाट पनि दशैंका लागि स्याउ भित्रन थालेको ब्यापारीहरुले बताए। भूकम्पका कारण बन्द रहेको तातोपानी नाका खुलेसँगै स्याउ भित्रने क्रम बढेको हो । यस वर्षको दशैंमा स्याउलगायत फलफूलको मूल्य पनि नबढ्ने संघले जनाएको छ । संघका अध्यक्ष अमर बानियाँका अनुसार अहिले स्याउ होलसेल भाउ प्रतिकिलो १ सय देखि १ सय ५० रुपैयाँ रहेको छ । दशैंमा पनि यही भाउमा उपभोक्ताले किन्न पाउनेछन् । केरा पनि दशैंका देश करिब स्याउकै हाराहारीमा तीन अर्बको खपत हुने र जसमा नेपालको उत्पादनले ४० देखि ५० प्रतिशत धान्ने संघले जनाएको छ ।

दशैंको बेला अरु बेलाको तुलनामा फलफूलको माग दोब्बर हुनेगर्छ । तरकारी भने दशैंमा विगत वर्षहरुमा जस्तै महँगो हुने भएको छ । नेपालको उत्पादन घटेको र भारतबाट बढी आयत हुने हुँदा महँगो हुने नेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए । देशैभरका तरकारी संकलन केन्द्रको सर्वेक्षणले उत्पादन घटेको देखाएकोले तरकारी महँगो हुने घिमिरेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here