काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै सरकार पत्रकारितामाथि कुनै प्रकारको अंकुश लगाउने तयारीमा नरहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रिय पत्रकारिता दिवस–२०८३ को अवसरमा बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको उहाँको भनाइ छ ।
उहाँले सामाजिक सञ्जालको दुरुपयोग र फेक न्यूजका कारण समाजमा भ्रम, विभाजन र अविश्वास बढिरहेको भन्दै त्यसको नियन्त्रणका लागि तथ्यजाँचलाई पत्रकारिताको महत्वपूर्ण अंगका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रेस स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व पनि जोडिने भएकाले पत्रकारिताले तथ्य र सत्यलाई केन्द्रमा राख्नुपर्ने बताउनु भयो ।
उहाँले विश्वमा सूचना प्रविधिको तिब्र विकासले सञ्चार क्षेत्रमा क्रान्ति ल्याएपनि त्यससँगै चुनौती समेत बढ्दै गएको बताउनु भयो । उहाँले सुशासन कायम गर्न जिम्मेवार पत्रकारिताको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यस वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा ‘सुशासनको आधारः प्रविधिमैत्री जिम्मेवार पत्रकार’ तय गरिएको बताउनु भयो ।
उहाँले सरकारले सञ्चारमाध्यमको व्यवसायिकता र दिगोपनलाई प्राथमिकतामा राख्दै विज्ञापन नीति–२०८३ तर्जुमा गर्ने काम अगाडि बढाइरहेको बताउनु भयो । उक्त नीतिमार्फत सञ्चारमाध्यमको हित संरक्षण गर्ने गरी नीतिगत व्यवस्था गरिने उहाँको भनाइ छ ।






