बिर्तामोड । झापाको बिर्तामोड र अर्जुनधारा क्षेत्रमा पर्ने ५१ बिघा जग्गा विवाद समाधान गर्न स्थानीयहरूले झापा क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा सदस्य तथा रास्वपा सांसद इन्दिरा राणा समक्ष गुनासो पोख्दै तत्काल न्याय दिलाउन माग गरेका छन् ।
विगत तीन वर्षदेखि एउटै समस्यासँग जुद्दै आएको स्थानीयहरूले सरकार फेरिए पनि आफ्नो समस्या समाधान नभएको भन्दै दुःख व्यक्त गरेका छन् । पटक–पटक सम्बन्धित निकाय, जनप्रतिनिधि तथा सरकारी कार्यालयमा ध्यानाकर्षण गराए पनि विषयलाई हल्का रूपमा मात्र लिने गरिएको र कुनै ठोस पहल नभएको उनीहरूको आरोप छ ।
बिर्तामोड–अर्जुनधारा बसपार्क ५१ बिघा जग्गा समन्वय समितिका अध्यक्ष सुजन शिवाकोटीले मालपोत कार्यालय झापाले कुनै स्पष्ट परिपत्र वा जानकारीबिनै घरजग्गा किनबेच, धितो पासलगायत सम्पूर्ण कारोबार बन्द गरेको बताउनुभयो ।
उहाँका अनुसार लामो समयदेखि कारोबार ठप्प हुँदा स्थानीयवासी आर्थिक, सामाजिक तथा मानसिक रूपमा प्रभावित बनेका छन । घरजग्गा किनबेच रोकिएको छ, बैंकबाट ऋण लिन पाइँदैन, धितो पास नहुने उहाँले बताउनुभयो । अर्कोतर्फ स्थानीय सरकार र वडाहरूले भने विभिन्न शीर्षकमा कर उठाइरहेको पनि उहाँले बताउनुभयो ।
स्थानीयहरूको भनाइअनुसार जग्गा विवादका कारण धेरै परिवार दैनिक जीवन सञ्चालनमै समस्यामा परेका छन । कतिपयले घर निर्माण, व्यवसाय विस्तार तथा बैंकिङ कारोबार गर्न नपाएको गुनासो गरेका छन् । समस्या समाधानका लागि सम्बन्धित निकायबीच समन्वय गरी स्पष्ट निर्णय लिनुपर्ने उनीहरूको माग छ ।
स्थानीयहरूले अब पनि समस्या समाधानमा चासो नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । यसैबीच, जग्गा विवादबारे आफ्नो धारणा राख्दै सांसद इन्दिरा राणाले ५१ बिघा जग्गा विवादको विषय आफूले प्रतिनिधिसभा तथा सम्बन्धित निकायमा उठाइसकेको बताउनुभयो ।
उहाँले स्थानीयको समस्याप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै विवाद समाधानका लागि आवश्यक पहल र समन्वयमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्थानीय नागरिकले लामो समयदेखि भोग्दै आएको समस्यालाई समाधान गर्न राज्यका निकाय गम्भीर हुनुपर्ने बताउँदै यो विषयलाई निष्कर्षमा पु¥याउन आवश्यक पहल गर्ने आश्वासन समेत दिनुभयो ।






