विदेशमा रहेका चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय तत्काल सच्याउन सरकारसँग एनआरएनएको माग


२४ बैशाख २०८३, बिहीबार १४:५७ मा प्रकाशित


काठमाडौं ।
 गैरआवासीय नेपाली संघ(एनआरएनए)ले विश्वका विभिन्न देशमा रहेका नेपाली चिकित्सकको लाईसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति आपत्ति जनाउँदै सो निर्णय तत्काल फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ । 


एनआरएनले मेडिकल काउन्सिलको सो निर्णय विदेशमा रहेका नेपालीहरुको दक्षता र लगानी मुलुकको समृद्धिका लागि उपयोग गर्ने नीति विपरित रहेको उल्लेख गर्दै उक्त निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो । नेपालको समृद्धिका लागि सहकार्य गर्ने एनआरएनएको अभियानमा समेत सो निर्णयले गम्भिर ठेस पु¥याएकाले सरकारलाई सो निर्णय तत्काल फिर्ता लिन अनुरोध गरिएको एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले बताउनु भयो ।

उहाँले विश्वका विभिन्न भागमा रहेर नेपालको सेवामा समर्पित भएका कुनैपनि क्षेत्रका विज्ञहरुको भावनामाथि चोट पु¥याउन काम नगर्न पनि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

सापकोटाले ३३ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने काउन्सिलको निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागगत भविष्यमा मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा नकारात्मक प्रभाव पारेको बताउनु भयो ।

संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासको आधारमा मात्र पेशागत पहिचान खोस्नु न्यायोचित नभएको संघको ठहर छ । प्रवक्ता सापकोटाकाअनुसार चिकित्सा पेसा जस्तो संवेदनशील क्षेत्रमा यस्तो कठोर निर्णय लिनुअघि सम्बन्धित पक्षसँग परामर्श, स्पष्ट आधार र प्रक्रियागत पारदर्शिता अपनाउनुपर्ने थियो ।

तर सम्बन्धित चिकित्सकहरूसँग कुनै समन्वय वा पूर्वजानकारी बिना नै गरिएको लाइसेन्स खारेजीको प्रक्रियाप्रति संघले आपत्ति जनाएको छ । एनआरएनएले विदेशमा रहेका नेपालीहरुको बारेमा निर्णय लिँदा सम्बन्धित पक्षसँग सम्वाद गरेर मात्रै गर्न उपयुक्त हुने राय पनि सरकारलाई दिएको छ । प्रवक्ता सापकोटाले विश्वका विभिन्न मुलुकमा रहेका नेपाली विज्ञहरुबारे राज्यले गर्ने निर्णय उनीहरुलाई निरुत्साहित गर्ने खालको हुन नहुने पनि स्मरण गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here