काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रमा बढ्दो ठगी नियन्त्रणका लागि आवश्यक जनशक्ति नभएको बताउनुभएको छ ।
बिहीवार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले कर्मचारी अभावका कारण ठगी सम्बन्धी मुद्दाको अनुसन्धान समयमा नै गर्न नसकेको बताउनुभएको हो ।
मन्त्री यादवकाअनुसार वैदेशिक रोजगार विभागमा २०६४ सालदेखि हालसम्म ४० हजारभन्दा बढी ठगीसम्बन्धी मुद्दा दर्ता भएका छन् । तीमध्ये २७ हजार मुद्दाको खोजविन प्रभावकारी रूपमा हुन नसकेको उहाँले बताउनु भयो । १३ हजार मुद्दा मात्रै सक्रिय अवस्थामा रहेको र ती मुद्दामा अनुसन्धान गर्नको लागी कर्मचारी नपुग रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले मुद्दा अनुसन्धानको लागि १० जना अनुसन्धान अधिकृतको माग गरेपनि हालसम्म उपलब्ध नभएको गुनासो गर्नुभयो । ठगीमा परेका नागरिकलाई न्याय दिलाउनुपर्ने सरकारको दायित्व रहेको उल्लेख गर्दै उहाँले मानव स्रोतको अभाव चुनौतीका रूपमा देखिएको बताउनु भयो ।
विभागमा सक्रिय रहेका १३ हजार मुद्दामध्ये ८ हजार मुद्दा डिजिटलाइजेशन गरेर अनुसन्धान गर्ने प्रक्रिया थालिएको जानकारी दिनुभयो । मन्त्री यादवले बाँकी २७ हजार मुद्दामध्ये केही कागजात जेन–जी आन्दोलनका क्रममा नष्ट भएको तथा केही फेला नपरेका कारण धेरै मुद्दा तामेलीमा जाने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
वैदेशिक रोजगार क्षेत्रमा अहिले पनि आर्थिक लेनदेनका आधारमा ठगी भइरहेको उल्लेख गर्दै मन्त्री यादवले यसलाई नियन्त्रण गर्न गहिरो अध्ययन र सरोकारवालासँग परामर्श गरिएको बताउनु भयो । उहाँकाअनुसार हालको वैदेशिक रोजगार ऐनले एजेन्ट वा अवैध एजेन्टलाई कानूनी रूपमा नचिन्ने भएकाले कारबाहीमा समस्या भइरहेको छ ।
उहाँले आफ्नो २५ दिने कार्यकालमा मात्रै ३२८ वटा व्यक्तिगत उजुरी अदालतमा पठाइएको जानकारी दिनुभयो । ती उजुरीलाई थन्काएर नराखी तत्काल कानुनी प्रक्रियामा लैजान निर्देशन दिइएको उहाँले बताउनुभयो ।
उजुरीका आधारमा गरिएको कारबाहीबाट २५ दिनमै ४४३ जनालाई ४ करोड ८० लाख रुपैयाँ बराबरको क्षतिपूर्ति भराइएको उहाँको दाबी छ । ठगी नियन्त्रणका लागि विभागले सरप्राइज अपरेसन गर्ने तयारी गरेको उहाँको भनाई छ ।






