राधीका आचार्य, झापा । बिर्तामोड चारपाने–१ बुद्धचोक घर भएकी ४५ वर्षीया कविता शर्मा स्थानीय एक निजी विद्यालयमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएको ११ बर्ष भएको छ । उनी यहाँ सेक्युरिटी गार्डको काम गर्नुभन्दा अघि नेपाल प्रहरीमा जागीर खाँदै आएकी थिइन् ।
नेपाल प्रहरीको जागीर केही पारिवारिक बाध्यताले छोड्नु परेपछि आफू बेरोजगार बनिन् । छँदा छँदैको जागीर छोड्नु परेपनि उनलाई पैसाको अभाव भने छँदै थियो । आफुलाई नेपाल प्रहरीमा काम गर्ने रहर पुरा नभएकोले उनले त्यसपछि जागीरको खोजी गर्न थालिन् । जागीर खोज्ने क्रममा उनी चारआली स्थीत भू.पू सैनिक नामक सेक्युरिटी संस्थासँग ठोक्किन पुगिन् । त्यो समयमा थोरैमात्र महिलाहरु सेक्युरिटी गार्डको पेशामा आबद्व रहेका थिए ।
त्यतिबेला आफु बेरोजगार भएकै कारण अंगालेको सेक्युरिटी गार्डको पेशाबाट अहिले राम्रो पारिश्रमिक पाउने गरेको उनी बताउँछिन् । महिलाहरुले जुनसुकै काम गर्दा पनि धेरै चुनौतीहरु भोग्नुपर्ने बाध्यता भईरहँदा यो पेशा आफुलाई सहज भएको उनी बताउँछिन् । उनी भन्छिन् ‘आफ्नो लागि आफैँ जिउँने आधार बनाउनको लागि मैले यो पेशा रोजेकी हुँ ।’

त्यस्तै बिर्तामोड स्थित हनुमान सेन्ट्रलमा बिगत ६ वर्षदेखि सुरक्षा गार्ड गर्दै आएकी लक्ष्मी गिरी दिउँसोको समयमा महिलाहरुले पनि सेक्युरिटी गार्डको काम गर्न सक्ने बताउँछिन् । आफु बेरोजगार बस्नु भन्दा सुरक्षा गार्डको काम गर्दा आफुलाई दुई चार पैसा आम्दानी हुने भएकाले यो पेशा रोजेको उनको भनाई छ । काम गर्दा सुरुमा कसैको आँट हौसला नभए पनि अहिले यो पेशाबाट आफु सन्तुष्ट भएको उनी बताउँछिन् ।
कविता र लक्ष्मी त प्रतिनीधि पात्र मात्र हुन् । पछिल्लो समय महिलाहरु हरेक काममा सक्षम हुँदै आएका छन् । विगतमा पुरुषहरुले मात्र गर्ने सेक्युरिटी गार्डको काममा पछिल्लो समय महिलाहरुको आकर्षण उत्तीकै बढ्न थालेको छ । ठूला सपिङ्ग महल, विद्यालय, अस्पतालदेखि लिएर अन्य विभिन्न स्थानहरुमा पनि महिला सेक्युरिटी गार्डहरुको पहुँच उत्तिकै देखिन्छ ।
महिलाहरु सहनशील हुने भएकोले कुनैपनि काम सहज रुपमा सम्पन्न गर्ने क्षमता हुन्छ । अरुलाई कुनैपनि कुरा सजिलै बुझाउन सक्ने क्षमता भएकोले पनि सपिङ्ग महलहरुमा सेक्युरिटी गार्डको लागि महिलाहरुलाई रोज्ने गरेको किनमेल डिर्पाटमेन्ट स्टोरका फिल्ड म्यानेजर जोसोप मेन्याङ्गबो बताउँछन् । पछील्लो समय महिलाहरु हरेक कुरामा अब्बल बन्दै गएकोले महिलाहरुको ठुलो जमात सुरक्षा गार्ड तर्फ देखिन थालेको उनी बताउँछन् ।

बिर्तामोडमा रहेको पपुलर सेक्युरिटी सर्भिसका प्रबन्धक हेमराज दर्लामीका अनुसार अस्पताल, सपिङ्ग महल, विद्यालय लगायतका क्षेत्रमा महिला सेक्युरिटी गार्डहरुको माग बढी हुने गरेको छ । सुरक्षा गार्डको काम गर्ने महिलाहरुले दिनको ८ घण्टा काम गर्दा न्यूनतम १० देखी १२ हजार भन्दा माथि पारिश्रमीक पाउने गरेका छन् ।
यस्तै सेभेन स्टार सेक्युरिटी सर्भिसका म्यानेजर मोहन बिक्रम मल्ल पनि पछिल्लो समय महिला सेक्युरिटी गार्डको प्रसस्तै माग हुन थालेको बताउँछन् । महिलाहरु काममा अनुशासित हुने भएकोले पनि महिला सेक्युरिटी गार्डको माग बढेको उनले बताए ।
सेक्युरिटी कम्पनीहरुले महिलाहरुलाई कम्तीमा १५ दिनको तालिम दिएर काममा पठाउने गरेको पाइन्छ । बिर्तामोड नगरपालिका भित्र सेभेन स्टार, पपुलर, राना, जिएसएस र कनकाई गरी ६ वटा सेक्युरिटी सर्भिस सञ्चालनमा छन् । त्यस्तै प्रदेश नम्बर १ मा ६० वटा भन्दा धेरै सेक्युरिटी सर्भिस सेन्टर रहेका छन् ।





