झापाको अर्जुनधारामा राष्ट्रियस्तरको भूपू ब्याडमिन्टन प्रतियोगिता हुने


१६ बैशाख २०८३, बुधबार १२:५८ मा प्रकाशित

बिर्तामोड । झापाको अर्जुनधारा–६ महानन्द चोक पश्चिमस्थित अर्जुनधारा ब्याडमिन्टन हलमा संयुक्त भूपू सुरक्षाकर्मी राष्ट्रियस्तरीय प्रथम ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।

किराँत याक्थुङ चुम्लुङ नगर शाखा बिर्तामोडको आयोजनामा आगामी वैशाख २२, २३ र २४ गते उक्त प्रतियोगिता सञ्चालन हुने मूल आयोजक समिति सदस्य तथा व्यवस्थापक क्याप्टेन सीके बेघाले जानकारी दिए।

उनका अनुसार प्रतियोगितासँगै कोशी प्रदेशस्तरीय सिभिल बी लेभल खुल्ला तथा भेट्रान्स डबल्स (४५ वर्षमाथि) ब्याडमिन्टन प्रतियोगिता पनि सञ्चालन गरिनेछ।

रिटायर्ड ब्रिटिस आर्मी, इण्डियन आर्मी, नेपाल आर्मी, सिङ्गापुर पुलिस, नेपाल एपीएफ, नेपाल प्रहरी (जनपद) लगायतका भूपू सुरक्षाकर्मीबीच खेलकुदमार्फत आपसी भाइचारा र सम्बन्ध सुदृढ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए।

नेपालमै पहिलो पटक राष्ट्रियस्तरमा यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै बेघाले देशभरबाट रिटायर्ड आर्मी तथा सिभिल गरी एक सयभन्दा बढी टिमको सहभागिता रहने जानकारी दिए। सिभिल खेलाडीका लागि प्रदेशस्तरीय बी लेभल तथा ४५ वर्षमाथिका भेट्रान्स खेलाडीका लागि छुट्टै प्रतिस्पर्धा राखिएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सहभागी खेलाडीलाई खाना, बसोबास लगायत आवश्यक सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत ५० वर्षमुनिको भूपू पुरुष डबल्स, ५० वर्षमाथिको भूपू पुरुष डबल्स, कोशी प्रदेश बी लेभल सिभिल खुल्ला, कोशी प्रदेश भेट्रान्स डबल्स (४५ वर्षमाथि) तर्फ प्रथम पुरस्कार ४१ हजार, द्वितीय ३० हजार र तृतीय १० हजार रुपैयाँ रहेको छ।

यस्तै, भूपू डिपेन्डेन्सन महिला डबल्स तथा भूपू–डिपेन्डेन्सन मिक्स डबल्सतर्फ प्रथम पुरस्कार २५ हजार, द्वितीय १५ हजार र तृतीय ७ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटन वैशाख २२ गते बिहान ८ बजे हुने आयोजकले जनाएको छ।

निम्जीफुङ लिम्बू फिल्मकी निर्माता तथा कलाकार साबित्रा लाबुङको अध्यक्षतामा आयोजित कार्यक्रममा झापा जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष कुमार गिरी, किराँत याक्थुङ चुम्लुङ झापा जिल्ला सचिव भीममाया नेम्बाङ कन्दङ्वा, आयोजक समितिका कोषाध्यक्ष नन्दलाल लिम्बू, नगर सदस्य गंगा काम्बाङ, अर्जुनधारा ब्याडमिन्टन हलका सञ्चालक रमेश प्रसाई तथा ब्याडमिन्टन खेलाडी सञ्जय भक्तराजलगायतले प्रतियोगिता सफल बनाउन प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन झापा जिल्ला ब्याडमिन्टन संघका सचिव शैलेन्द्र कुरुम्बाङले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here