राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारले दु्रत गतिमा काम गर्नको लागि अध्यादेश ल्याएको दाबी गर्नुभएको छ ।
बुधवार रास्वपाको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले नागरिकले दिएको म्याण्डेटअनुसार छिटो छरितो रुपमा काम गर्नको लागि अध्यादेश ल्याइएको दाबी गर्नुभएको हो । हाल कानूनी प्रक्रियाका झन्झटले सामान्य काम गर्न पनि ३–४ महिना लाग्ने अवस्था रहेको उहाँको भनाई छ ।
अध्यादेश कुनै व्यक्ति, संस्था वा दल विशेषलाई लाभ पु¥याउने उद्देश्यले नभई जटिल प्रक्रियाबाट रोकिएका कामहरूलाई गति दिन ल्याइएको उहाँले दाबी गर्नुभयो । उहाँले विशेष गरी सहकारी पीडितहरूको रकम फिर्ता गर्ने प्रक्रिया र संवैधानिक नियुक्तिहरूलाई छिटो टुंग्याउन अध्यादेश आवश्यक रहेको बताउनु भयो ।
लामो विधायकी प्रक्रियाले राज्य सञ्चालनमा ढिलाइ हुने भएकाले ‘फास्ट ट्रयाक’ आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले असल नियत राखेर नै अध्यादेश ल्याइएको उल्लेख गर्नुभयो ।
उहाँले वर्तमान सरकार राज्य संचालनमा विलम्व नहुनेगरि काम गर्न अग्रसर भएको उल्लेख गर्नुभयो ।






