देशका विभिन्न जिल्लामा तिब्र हावाहुरी र चट्याङको जोखिम, उच्च शतर्कता अपनाउन प्राधिकरणको आग्रह


१६ बैशाख २०८३, बुधबार ११:११ मा प्रकाशित

काठमाडौं । देशका विभिन्न भागमा तिब्र गतिको हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च शतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । 


जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र मौसमी मोडलिङका आधारमा प्राधिकरणले देशैभर ‘अलर्ट’ जारी गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टकाअनुसार आज विशेषगरी सुदूरपश्चिमका कञ्चनपुर, डडेल्धुरा, डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी तथा वागमती प्रदेशका नवलपुर र चितवन; मधेस प्रदेशका बारा, पर्सा, धनुषा तथा कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लाहरूमा तिब्र गतिको हावाहुरी चल्ने सम्भावना छ ।

यो मौसमी प्रणाली पश्चिमबाट शुरु भई क्रमशः पूर्वतर्फ सर्दै जाने देखिएको छ । उहाँले हावाहुरी, मेघगर्जन र चट्याङ शुरु भएपछि तत्काल सुरक्षित स्थान वा घरभित्र जान र झ्यालढोका राम्ररी बन्द गर्न आग्रह गर्नुभयो ।

घरबाहिर वा खुला स्थानमा आगो बालिएको भए तत्काल निभाउनुपर्ने, तिब्र गतिको हावाहुरीले आगो उडाएर बस्ती वा वनजंगलमा डढेलो लाग्नसक्ने जोखिम रहेको बताउनु भयो । कमजोर र लड्न सक्ने संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा नजिक नबस्न र लत्रिएका तारहरू नछुन सचेत गराइएको छ । यात्रा गरिरहेका व्यक्तिहरूले हावाहुरी शुरु हुनासाथ सुरक्षित स्थानमा सवारी साधन रोक्न आग्रह गर्नुभयो । रुख खसेर दुर्घटना हुनसक्ने भएकाले रुखमुनि सवारी साधन पार्किङ नगर्न सुझाइएको छ ।

हवाई उडानका सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणको आफ्नै मौसम निगरानी प्रणाली र टावरहरूले समन्वय गरिरहेको जानकारी दिइएको छ । मौसममा खराबी देखिएमा उडानको मार्ग परिवर्तन (रुट सिफ्ट) वा डाइभर्ट गरिनेछ ।

कार्यकारी प्रमुख भट्टले विपद्को समयमा तत्काल उद्धार र राहतका लागि सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति र स्वयम्सेवकहरूलाई ‘हाई अलर्ट’ मा राखिएको बताउनु भयो । कुनैपनि दुर्घटना भए तत्काल नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४ र विपद् उद्धारको टोल फ्री नम्बर ११४९ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले प्रत्येक दुई घण्टामा मौसमको अद्यावधिक विवरण (अपडेट) सार्वजनिक गर्नेछ । स्थानीय स्तरमा विभिन्न भाषामा सूचना प्रवाह भइरहेकाले आधिकारिक समाचार र मौसम बुलेटिनको जानकारी लिइरहन समेत प्राधिकरणले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here