काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको नतिजालाई गम्भीर धक्काका रूपमा स्वीकार गर्दै पार्टीलाई नयाँ सिराबाट पुनर्गठित गर्ने घोषणा गर्नुभएको छ ।
बुधवार २७ औं यदु स्मृति दिवस तथा २४ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै उपाध्यक्ष पौडेलले फागुन २१ गतेको निर्वाचन नतिजालाई लिएर पार्टीभित्र गम्भीर समीक्षा हुने बताउनुभएको हो ।
उपाध्यक्ष पौडेलले विगत १० वर्षमा एमालेले दुई तिहाइ नजिकको सरकार बनाउने जस्ता ठूला सफलता प्राप्त गरे पनि अहिलेको पराजयले नयाँ चुनौती खडा गरेको उल्लेख गर्नुभयो । आगामी दिनमा ‘जनताको बहुदलीय जनवाद’ को मार्गनिर्देशनमा रहेर पार्टीको नीति र विचारलाई अद्यावधिक गरिने उहाँले बताउनु भयो ।
निराशा र पलायन समस्याको समाधान नभएको भन्दै उहाँले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ सङ्गठन निर्माणमा जुट्न आह्वान गर्नुभयो । वर्तमान सरकारले लोकतान्त्रिक मूल्य र मान्यताविपरीत अध्यादेशको बाटो रोजेको भन्दै उहाँले त्यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत बताउनु भयो ।
उहाँले आत्मविश्वासको सबभन्दा बलियो आधार जनताको बहुदलीय जनवाद भएको बताउनु भयो ।






