गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको अभाव रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको १२ औँ एकता महाधिवेशनमा उहाँले देश बनाउने संकल्प भएमा छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताउनुभएको हो । उहाँले नेपालीहरू बौद्धिक, आर्थिक, शारीरिक तथा मानसिक रूपमा देशलाई समृद्ध बनाउन सक्षम रहेको उल्लेख गर्नुभयो ।
उहाँले आगामी १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र सजिलै बनाउन सकिने बताउनु भयो । नेपालभित्र र बाहिर रहेका नेपालीहरूको आर्थिक गतिविधिलाई जोड्ने हो भने अर्थतन्त्र अहिले नै करिव १०० बिलियन डलर पुग्न लागिसकेको उहाँको भनाई छ । हाल ८० लाख नेपालीहरु बाहिर रहेको र वार्षिक करिव २० अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिने गरेको उहाँले बताउनु भयो । नेपालभित्रको अर्थतन्त्र जति छ, त्यति नै आर्थिक गतिविधि विदेशमा रहेका नेपालीहरूसँग पनि जोडिएको उहाँको भनाई छ ।
उहाँले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीहरूको लगानी महत्वपूर्ण हुने पनि बताउनु भयो । सरकारसँग गुनासो मात्रै गर्ने प्रवृत्ति त्यागेर देश निर्माणमा सक्रिय भुमिका खेल्न उहाँले गैरआवसीय नेपालीहरुलाई आह्वान गर्नुभयो ।
उहाँले विदेशी लगानी आकर्षित गर्नुअघि गैरआवासीय नेपाली तथा स्वदेशी निजी क्षेत्रको लगानी बलियो बनाउनुपर्नेमा पनि जोड दिनुभयो । गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको लगानी मजबुत नभएसम्म विदेशी लगानी सहज रूपमा नेपाल भित्रिन नसक्ने उहाँको भनाई छ ।
उहाँले नेपालीको निजी क्षेत्रले गैरआवासीय नेपालीहरुलाई बेवास्ता गरेको पनि गुनासो गर्नुभयो । नेपालको निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर काम नगरेसम्म नेपालले आर्थिक प्रगति गर्न नसक्ने उहाँको भनाई छ ।






