मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
विश्वमा कतै पनि बिना प्रहरी प्रशासनको सरकार नहुने भन्दै उहाँले नेपालमा मात्रै प्रदेश सरकारहरूले यस्तो नियति भोगिरहेको बताउनुभएको हो । जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संविधानले परिकल्पना गरेको अधिकार आठ वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रदेशले नपाएको गुनासो गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले जनकपुरको तिरहुतिया गाछीमा ‘अब अधिकारका लागि होइन, पशुपति दर्शन गर्न मात्र आउनू’ भनी दिएको अभिव्यक्तिको स्मरण गराउँदै प्रदेशले नमागीकन अधिकार दिन खोजेकोमा साहलाई धन्यवादसमेत दिनुभयो । मुख्यमन्त्री यादवले मधेस प्रदेशमा प्रहरीको भौतिक संरचना अत्यन्तै दयनीय रहेको बताउनु भयो ।
माओवादी द्वन्द्वकालमा क्षति भएका भग्नावशेष भवनहरूमा समेत प्रहरीहरू अहिले बस्न बाध्य रहेको उल्लेख गर्दै उहाँले यसको सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
‘जेन–जी’ आन्दोलनका क्रममा धेरै ठाउँमा प्रहरीका सवारी साधनहरू जलाइएको र नष्ट गरिएको भन्दै उहाँले त्यसको पूर्ति गर्नुपर्ने दायित्व पनि थपिएको बताउनु भयो ।
प्रदेश प्रहरीलाई सुसम्पन्न बनाउन प्रदेश सरकारको मात्र नभई संघीय सरकारको पनि उत्तिकै जिम्मेवारी रहेको उहाँको भनाइ छ । सिमित साधनस्रोतका बाबजुद प्रदेश सरकारले प्रत्येक वर्ष प्रहरीलाई सहयोग गरिरहेको उनले जानकारी दिनुभयो ।
मुख्यमन्त्री यादवले २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भुमिका खेल्ने सुरक्षा निकायको उच्च प्रशंसा गर्नुभयो ।






