ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउनुपर्छः इप्पान अध्यक्ष कार्की


९ फाल्गुन २०८२, शनिबार १७:४२ मा प्रकाशित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालको समृद्धिको आधार ऊर्जा क्षेत्र भएको बताउँदै सरकारबाट लगानीमैत्री नीति, प्रतिवद्ध सरकार र दीर्घकालीन स्थिरताको माग गर्नुभएको छ । 


झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँगको निजी क्षेत्र संवाद कार्यक्रममा कार्कीले नेपालको विकास र समृद्धिको मुख्य आधार जलविद्युत तथा ऊर्जा क्षेत्र भएको बताउनुभएको हो । उहाँले ऊर्जा क्षेत्रमा निजी क्षेत्रले ठूलो लगानी गरिसके पनि सरकारको नीतिगत अस्थिरता, लाइसेन्स वितरणमा लापरबाही र विद्युत खरिदमा अनिच्छाका कारण समस्या बढिरहेको बताउनु भयो ।

उहाँले निजी क्षेत्रले दुई वर्षदेखि फाइल मुभ नहुने अवस्था रहेको गुनासो गर्दै सुशासनको खोजीमा सबै राजनीतिक दलहरूले राष्ट्र निर्माणको साझा एजेण्डा लिनुपर्ने बताउनु भयो । उहाँले सरकार परिवर्तन भएपनि नीति परिवर्तन हुन नहुनेमा जोड दिँदै लगानीमैत्री वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

कार्कीले लाइसेन्स अन्धाधुन्ध बाँड्ने तर उत्पादित बिजुली नकिन्ने नीतिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले संसद्बाट पास भएका कुरा कार्यान्वयन हुनुपर्ने र कर्मचारीको कारण रोकिन नहुने धारणा राख्नुभयो ।

उहाँले आगामी सरकार बलियो, बहुमतको र प्रतिवद्ध हुनुपर्ने माग गर्नुभयो । निजी क्षेत्रले ऊर्जासँग जोडिएका अन्य उद्योगहरूलाई पनि बचाउनुपर्ने बताउँदै उहाँले रोजगारी सिर्जना गर्न मानिस नपाइने अवस्था रहेको गुनासो गर्नुभयो । 

उहाँले लाइसेन्स लिन करोडौं खर्च हुने तर बिजुली नकिन्ने र निजी क्षेत्रलाई व्यापार गर्न नदिने नीतिले धेरै लगानीकर्ता संकटमा परेको बताउनु भयो । निजी क्षेत्रले रिस्क लिन तयार रहेको बताउँदै उहाँले सरकारले पनि त्यसलाई समर्थन गर्नुपर्ने वा आफैंले जिम्मेवारी लिनुपर्ने माग गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here